सरकारले चासो नदिँदा संघीय शिक्षा ऐन बन्न सकेन : सचिव सुवेदी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकारले चासो नदेखाउँदा संघीय शिक्षा ऐन समयमै बन्न नसकेको बताएका छन्।

शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सचिव सुवेदीले यसअघिको सरकारको मन्त्रिपरिषद्मा मन्त्रालयबाट सबै काम गरेर पुर्‍याए पनि मन्त्रिपरिषद्ले चासो नदिँदा पुनः शून्यमा झरेको बताएका हुन्।

उनले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा शिक्षा मन्त्रालयले सबै प्रक्रिया टुंग्याई मन्त्रिपरिषद्मा पठाएको तर मन्त्रिपरिषद्ले चासो नदिएको बताए। उनले संघीय शिक्षा ऐन मन्त्रिपरिषद्मा पुगेको १ महिनापछि मात्रै मन्त्रिपरिषद्मा पुगेको नेपाल विश्वविद्यालय ऐन भने तत्काल संसदमा प्रस्तुत भएको भन्दै सरकारले चासो नदेखाउँदा संघीय शिक्षा ऐन निर्माणमा ढिलाइ भइरहेको बताए।

सचिव सुवेदीले यस वर्ष समयमा नै देशभर पाठ्यपुस्तक पुगेको दाबी गरे। उनले केही ठाउँमा साना समस्या भए पनि त्यसलाई समाधान गर्न लागिपरेको बताए। उनले पाठ्यपुस्तक वितरणमा पनि कुनै समस्या नदेखिएको बताए।

सचिव सुवेदीले कक्षा १ देखि ५ निजी क्षेत्र र कक्षा ६ देखि १२ जनक शिक्षा सामग्रीको सहकार्यमा काम गर्दा सबै क्षेत्रमा समयमा नै पुस्तक पुगेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *