इलोन मस्कको स्टारलिंकले सगरमाथाबाट प्रत्यक्ष प्रसारण परीक्षण गर्दै

यदि योजनाअनुसार काम भएमा यसै महिनाको अन्त्यमा अमेरिकी अर्बपति इलोन मस्क सगरमाथाको शिखरमा भर्चुअली उभिनेछन् । टेस्ला इंक, स्पेसएक्स र ट्विटरका मालिक मस्कले आफ्ना प्रतिनिधिलाई सगरमाथा आरोहण गर्न पठाएका हुन्, जहाँबाट टोलीले विश्वका दोस्रो धनी मस्कलाई आरोहणको अनुभवसहित भिडियो च्याट गर्नेछ ।

‘स्पेसएक्सको स्टारलिंक नेटवर्क इन्जिनियरिङ टोलीका उत्पादन प्रमुख टायलर कार्निभल सहयोगी कर्मचारीसँग अब केही हप्तामा सगरमाथा आरोहणमा हुनेछन्,’ एलिट एक्सपेडका सह–मालिक मिङ्मा डेभिड शेर्पाले भने । योजना अनुसार कार्निभलले सगरमाथाको शिखरबाट लाइभ स्ट्रिमहरू परीक्षण गर्न स्टारलिंक उपकरण ल्याएका छन् ।

टोलीले स्टारलिंकको स्याटेलाइट उपकरणको इन्टरनेटको उच्च गतिलगायत परीक्षण गर्न सगरमाथाको चुचुरोबाट मस्कसँग लाइभ भिडियो च्याट गर्नेछन् । मौसमअनुसार मे तेस्रो सातादेखि आरोहीहरु सगरमाथा चढ्न थाल्ने योजना छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरव गिरीले स्टारलिंकले सगरमाथाबाट प्रत्यक्ष प्रसारणको परीक्षण गर्न अनुमतिका लागि आवेदन दिएको पुष्टि गरे । ‘यसको आवेदन अहिले नेपाल दूरसञ्चार प्राधिकरण र सूचना तथा प्रसारण विभागले संयुक्त रुपमा पुनरावलोकन गरिरहेको छ,’ गिरीले भने, ‘सम्बन्धित निकायको अनुमतिबिना उनीहरुले आफ्नो यन्त्र परीक्षण गर्न पाउँदैनन् ।

शेर्पाले स्टारलिंक परीक्षण प्रसारणलाई चाँडोभन्दा चाँडो सञ्चालन गर्न अनुमति दिन सरकारी अधिकारीहरू सकारात्मक रहेको दाबी गरे । स्टारलिंकले नेपालमा आफ्नो बजार विस्तार गर्न चाहेको छ । हालैका वर्षहरूमा, मस्कले कार्निभललाई संसारका सबैभन्दा दुर्गम स्थाबाट लाइभ स्ट्रिमहरू परीक्षण गर्ने जिम्मा दिएका छन् । कार्निभलले अन्टार्कटिकामा स्याटेलाइट उपकरणको सफलतापूर्वक परीक्षण गरिसकेका छन् ।

प्रख्यात पर्वतारोही निर्मल ‘निम्स’ पुर्जा कार्निभलको टोलीको लागि सगरमाथिा र ल्होत्से आरोहण अभियानको नेतृत्व गर्दै छन् । कार्निभलले आठ गिनिज वल्र्ड रेकर्ड पनि राखेका छन् । सन् २०१७ मा, उनी आर्कटिक महासागर पार गर्ने सबैभन्दा कान्छो व्यक्ति बनेका थिए । सन् २०१९ मा, उनी ३४औँ म्याराथन डे सेबल्सको फिनिशर बनेका थिए, यो पृथ्वीको सबैभन्दा कठिन पदयात्रा मानिन्छ ।

‘सगरमाथा शिखरमा उच्च गतिको इन्टरनेट यन्त्र परीक्षण गर्नु स्वागतयोग्य कदम हो,’ सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटाले भने । यसले देशको स्याटेलाइट टेक्नोलोजी क्षेत्रमा क्रान्ति ल्याउने र सगरमाथा क्षेत्रमा सिन्डिकेशन अन्त्य गर्न मद्दत गर्ने उनको भनाइ छ ।

एभरेष्ट लिंक र नेपाल लिंकले आधार शिविरसम्म महँगो इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको सापकोटाले बताए । यसले विश्वको सर्वोच्च स्थानको फेदमा रहेको इन्टरनेटको एकाधिकार पनि अन्त्य गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *