FLASH NEWS

मध्यराति उपत्यका छिरेका टोपबहादुर रायमाझी बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ

भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहँदै आएका नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

नेपाली नागरिकलाई माेटाे रकम लिएर भुटानी शरणार्थी बनाएर अवैध रुपमा पूर्नवासका लागि अमेरिका पठाउने प्रकरणमा रायमाझीकाे प्रत्यक्ष सहभागिताकाे प्रमाण प्रहरीले भेटेकाे हाे ।

उनी पक्राउ परेको प्रहरी सहप्रवक्ता एसएसपी भुपेन्द्र खत्रीले पुष्टि गरेका छन् ।

प्रहरी उच्च अधिकारीका अनुसार प्रहरी प्रधान कार्यालयबाट महानिरीक्षक वषन्तबहादुर कुँवरकाे प्रत्यक्ष निर्देशनमा खटिएकाे टाेलीले उनलाई पक्राउ गरेकाे हाे । उनकाे खाेजीमा रहेकाे विशेष टाेलीले  हिजाे मध्यराती उनी उपत्यका प्रवेश गरेकाे सूचना पाएकाे ती अधिकारीले पर्दाफासलाई बताए ।

उनका अनुसार रायमाझीलाई बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएकाे हाे ।

रायमाझीविरुद्ध २० वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो।

अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीमाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम करोडौं रकम असुल गरेको घटनामा संलग्न रहेको आरोप छ।

प्रहरीले उनीसहित उनका छोरा सन्दीपविरुद्ध पनि यही घटनामा संलग्न रहेको अभियोगमा पक्राउ पुर्जी जारी गरेको थियो। सन्दीप भने पक्राउ परिसकेका छन्।

पक्राउ पुर्जी जारी भएपछि अर्घाखाँची हुँदै भैरहवासम्म पुगेका टोपबहादुर त्यहाँबाट सम्पर्कविहीन बनेका थिए।

उनलाई २७ वैशाखमा एमालेले पार्टीबाट निलम्बन गरेको थियो।

टोपबहादुर पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ।

यसअघि पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र उनका सहयोगी नरेन्द्र केसी, पूर्वगृहसचिव एवं उपराष्ट्रपति कार्यालयका बहावाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १२ जना पक्राउ परिसकेका छन्।

पक्राउ पुर्जी जारी भएका बादलका छाेरा प्रतीक, इन्द्रजितका छाेरा निरज भने फरार छन्। हालै कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *