परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाका परराष्ट्र सहायकमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री एनपी साउद र अष्ट्रेलियाको परराष्ट्र मामिलासम्बन्धी सहायकमन्त्री टिम वाट्सबीच भेटवार्ता भएको छ।

दुई दिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका सहायकमन्त्री वाट्सले मंगलबार नै परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गरेका हुन्।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको छ।

भेटपछि सामाजिक सञ्जाल ट्विटरमा तस्बिर शेयर गर्दै सहायकमन्त्री वाट्सले अष्ट्रेलिया र नेपाल घनिष्ठ मित्र रहेको र ६० वर्षभन्दा लामो समयदेखि जनताहरूबीचको सम्बन्धले दुई देशको सम्बन्धलाई बलियो बनाएको उल्लेख गरेका छन्।

भेटमा नेपाल-अष्ट्रेलिया सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी भएको उनले बताएका छन्।

 

सहायकमन्त्री वाट्सले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। नेपाल र अस्ट्रेलियाबीच ६३ वर्ष पुरानो दौत्य सम्बन्ध छ।

सहायकमन्त्री वाट्स ई.सं. १३ औं शताब्दीमा निर्मित पाटनको सुलिम टोलस्थित रत्नेश्वर मन्दिरको टुँडाल फिर्ता गर्न पाटन संग्रहालयमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। नेपालबाट चोरी भएर अस्ट्रेलिया पुगेको टुँडाल आर्ट ग्यालरी न्यु साउथ वेल्सले नेपाललाई फिर्ता गरेको छ। उक्त संग्रहालयका निर्देशक डा. माइकल ब्रान्डले उक्त टुँडाल हस्तान्तरण गर्ने कार्यक्रम छ।

उनले काठमाडौं विश्वविद्यालय भ्रमण गर्ने कार्यक्रम छ। त्यसक्रममा सहायकमन्त्री वाट्सले हाल अस्ट्रेलियाली संस्थाहरू र विश्वविद्यालयबीच भइरहेको सहकार्य र खानी उत्खनन, हरित हाइड्रोजन इन्धनसम्बन्धी अनुसन्धान र हाल भइरहेका विद्यार्थी आदानप्रदान कार्यक्रमलगायतका विषयमा भविष्यमा हुने सहकार्यबारे छलफल गर्ने कार्यक्रम छ।

सहायकमन्त्री वाट्सले बनेपास्थित बायोभ्याक कम्पनीमा अत्याधुनिक निदानात्मक परीक्षण प्रयोगशाला र पशु खोप विकास तथा उत्पादन कार्यमा अस्ट्रेलियाबाट भएको प्रविधि हस्तान्तरण र शैक्षिक र अनुसन्धान सहकार्यबारे जानकारी लिने कार्यक्रम छ ।

उनले डा. सन्दुक रुइत र अस्ट्रेलियाली डा. फ्रेड हलोजको सहकार्यमा स्थापित आँखा स्वास्थ्यको उत्कृष्ट केन्द्रका रूपमा परिचित तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण गर्ने कार्यक्रम छ। विगत ३० वर्षहरूमा अस्ट्रेलियाली सरकार र फ्रेड हलोज फाउन्डेसनले तिलगंगा आँखा प्रतिष्ठानलाई आँखा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग गरिरहेको छ।

सहायकमन्त्री वाट्सले पशुपतिनाथ मन्दिर परिसर र बौद्धनाथ परिसरको पनि भ्रमण गर्ने कार्यक्रम छ। उनले नेपालका विभिन्न क्षेत्रमा कार्य गर्दै सफलता हासिल गरेका अस्ट्रेलियाका विभिन्न शिक्षण संस्थामा अध्ययन गरेका नेपाली पूर्वविद्यार्थीलाई पनि भेट्ने कार्यक्रम रहेको छ।

सहायकमन्त्री वाट्सले हिमालयन उद्धार संघलाई अस्ट्रेलियामा निर्मित पोर्टेबल अल्टिटुड च्याम्बर हस्तान्तरण गर्ने कार्यक्रम छ। उक्त उपकरण संघले फेरिचे र सगरमाथा आधार शिविरमा रहने आकस्मिक क्लिनिकमा प्रयोग गर्नेछ।

अष्ट्रेलियामा नेपाली समुदाय सबैभन्दा चाँडो बढिरहेको आप्रवासी जनसंख्या भएको छ र हाल करिब एक लाख ३० हजार नेपाली अस्ट्रेलियामा बसोवास गर्दछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *