पशुपति मन्दिरबाट अष्ट्रेलियाका सहायक विदेशमन्त्रीले भने- अष्ट्रेलियामा सबैभन्दा छिटो हिन्दू धर्म बढिरहेको छ

प्रशन्न मुद्रासहित ओठमा मुस्कान । घाँटीमा रुद्राक्षको माला र सनातन धर्म फेटी । भगवान पशुपति मन्दिर अघिल्तिर उभिएर क्रिस्चियन धर्मावलम्बी अष्ट्रेलियाका सहायक विशदेमन्त्री टिम वाट्सले भने ‘हिन्दू धर्म अष्ट्रेलियाको सबैभन्दा छिटो बढिरहेको धर्म हो । आधुनिक अष्ट्रेलियाको विविधताले हामीलाई दक्षिण एशियालगायत विश्वको हरेक भागमा जोडेको छ ।’

उनले थपे, ‘विदेशमन्त्री पेनी वोङले भनेजस्तै जब अष्ट्रेलियालीहरूले संसारलाई हेर्छन्, हामी त्यसमा आफूलाई प्रतिबिम्बित देख्छौं । जसरी संसारले हामीमा प्रतिबिम्बित भएको देख्छ ।’

मंगलबारदेखि नेपालमा भ्रमणमा रहेका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्स राजनीतिक भन्दा सामाजिक र सांस्कृतिक भेटघाट र वार्तामा व्यस्त छन् । उनले बुधबार बिहान पवित्र पाशुपत क्षेत्रको भ्रमण गरेका हुन् ।

भ्रमणपछि उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘नेपालको पशुपतिनाथ मन्दिरको भ्रमण र दक्षिण एशिया र बाहिरका हिन्दूहरू र अन्यहरूका लागि तीर्थस्थलको रूपमा यसको महत्त्वको अनुभव गर्दै, यसले त्यो सम्बन्धलाई प्रकाश पार्‍याे र अविश्वसनीय रूपमा यो मेरा लागि पुरस्कृत अवसर थियो ।’

यसअघि उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्तासमेत गरेका छन् । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले अष्ट्रेलियाका समकक्षीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । उनले मंगलबार परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए ।

उनले तिलगंगा आँखा अस्पतालको भ्रमण तथा डा. सन्दुक रुइतसँग भेटवार्ता पनि गरे । यस्तै विभिन्न महिला नेतृहरूसँग पनि छलफल गरेका थिए ।

सहायक विदेशमन्त्री वाट्सको भ्रमणकै अवसरमा अष्ट्रेलियाले १३ औं शताब्दीको रत्नेश्वर मन्दिरको टुँडाल नेपाललाई फिर्ता गरेको छ । आर्ट ग्यालरी न्यु साउथ वेल्सका निर्देशक माइकल ब्रान्डले मन्दिरका मुख्य पुजारी हेरम्बराज राजोपाध्यायलाई मंगलबार टुँडाल हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर