भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणमा संलग्नलाई जस्ताेसुकै दबाब र प्रभाव आए पनि छुट दिन सकिँदैन : गृहमन्त्री

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाई वैभवशाली जीवन व्यतीत गर्ने प्रवृत्तिलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताएका छन्।

नेकपा (एकीकृत समाजवादी) का मोर्चा संगठन प्रमुख विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडासहित ३० भन्दा बढी नेताहरू संलग्न प्रतिनिधिमण्डलले बुझाएको
ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन्।

साथै दोषी नउम्कने, निर्दोष नफस्ने गरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको जानकारीसमेत उनले दिएका छन्।

एकीकृत समाजवादीका नेताहरू नक्कली शरणार्थी प्रकरणका सबै अपराधीलाई गिरफ्तार गरी हदैसम्मको कानूनी कारबाही गर्न मागसहित मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका हुन्।

एकीकृत समाजवादीले यस काण्डका अपराधीलाई कानूनी कारबाहीको दायरामा ल्याउन स्पष्ट अडान, कार्यकुशलता र सक्रियता देखाएर आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेकोमा सरकारलाई धन्यवादसमेत दिएको छ।

देशका उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरूले नै आफ्ना नागरिकलाई अर्को देशको नक्कली नागरिक बनाएर मानव बेचबिखन, राष्ट्रप्रति धोखा र राष्ट्रद्रोहको कुकर्म गरेको तर यसलाई आधार बनाएर विभिन्न आवरणका प्रतिगामी शक्तिहरूले संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कुप्रचार गरी देशलाई अराजक परिस्थतितिर लैजान खोजेकोप्रति चनाखो हुनुपर्ने एकीकृत समाजवादीको अडान छ।

विगतका धेरै भ्रष्टाचार काण्डहरू बिचैमा सामसुम पारिएका हुँदा यति गम्भीर मुद्दालाई कुनै पनि प्रकारको मिलोमतोमा कमजोर नबनाउन र ढाकछोप नगर्न एकीकृत समाजवादीले ध्यानाकर्षण गराएको छ।

यसैबीच मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय टोलीले आजै उपप्रधानमन्त्री श्रेष्ठलाई पाँच बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै नक्कली शरणार्थी प्रकरणका दोषी तथा सबै भ्रष्टाचारीहरूलाई कारबाही गर्न र मानवअधिकारमैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर