जापान सडक दुर्घटनामा काभ्रे र ओखलढुंगाका दुई युवाको मृत्यु

जापानमा मंगलबार राति सवारी दुर्घटनामा परी मृत्यु भएका दुई जना नेपाली विद्यार्थीको परिचय खुलेको छ।

दुर्घटनामा काभ्रेको भुम्लु गाउँपालिकाका अन्दाजी २२ वर्षीय नवराज तामाङ र ओखलढुंगाका अन्दाजी २७ वर्षीय युवराज थापाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको एनआरएन सेन्दाइका विनोद महतरा क्षेत्रीले जानकारी दिए।

जापानी समयअनुसार मंगलबार राति ८:१० बजेतिर सेन्दाइ शहर नजिकैको मियागी प्रान्तको कुरिहारामा रहेको तोहोकु राजमार्गमा सो दुर्घटना भएको हो।

पार्ट टाइम काममा पुर्‍याउन ३९ नेपाली र एक बंगलादेशी विद्यार्थी सवार रोकिराखेको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।

नेपाली दूतावास टोकियोकी उपनियोग प्रमुख अम्बिका जोशीले घटनाको पुष्टि गर्दै सबै पक्षसँग सम्पर्कमा रहेको र दूतावासले आवश्यक सहयोग गर्ने बताएकी छन्।

दुर्घटनामा उनीहरूसहित चालक जापानी महिलाको पनि मृत्यु भएको छ। दुर्घटनामा ट्रक चालक गम्भीर घाइते भएका छन्।

पार्टटाइम कामका लागि छिमेकी इवाते प्रान्तको इचिनोसेकीमा जाने क्रममा बाटोमा इन्जिनमा समस्या आएपछि रोकेर राखिएको बसलाई ट्रकले ठक्कर दिएको हो।

चालकले बस रोकेपछि सबै विद्यार्थी बाहिर निस्किएका थिए। तीव्र गतिमा आएको ट्रकले पछाडिबाट बसलाई ठक्कर दिँदा सो हताहति भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *