सर्वाेच्च शिखरमा फहरायो नेपाल प्रहरीको झण्डा

नेपाल प्रहरीका कर्मचारीले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। प्रहरी वरिष्ठ नायब निरीक्षक (सिनियर सई) पुरुषोत्तम नेपालीले मंगलबार बिहान १० बजेर १५ मिनेटमा सगरमाथा आरोहण गरेका हुन्।

उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी तथा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को झण्डा फहराएका छन्।

इन्टरपोलको १०० औं सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रमअन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक नेपालीले सगरमाथा आरोहण गरेका हुन्।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामनासहित उक्त झण्डाहरू हस्तान्तरण गरी नेपालीसहितको आरोहण दल २०८० वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो।

पहिलो पटक वि. सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६,९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो। साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६,११९ मिटर उचाइको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए।

नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाइ अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवं साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्वास नेपाल प्रहरीले लिएको छ।

यस आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाइएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाललगायत इन्टरपोलका सदस्य राष्ट्रहरूको आपराधिक कृयाकलापहरूविरुद्ध ऐक्यबद्धता रहेको संकेत गर्ने नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर