नुवाकोटमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार बुबाको मृत्यु, छोरा गम्भीर घाइते

नुवाकोटको बेलकोटगढी नगरपालिका-७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु गाउँपालिका-१, बोरापानीका नेत्रमान विश्वकर्माको मृत्यु भएको छ भने उनका छोरा निरज घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार ५० वर्षीय नेत्रमानको उपचारका क्रममा त्रिशूली अस्पतालमा निधन भएको हो । उनका छोरा २० वर्षीय निरजको हातखुट्टासहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट लागेकाले अवस्था गम्भीर छ । उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

नुवाकोटको देवीघाटबाट धादिङको गल्छीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-२९ प ५७५८ नम्बरको मोटरसाइकललाई गल्छीबाट देवीघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१-ख २५८४ नम्बरको टिपरले बेलकोटगढी नगरपालिका-७, ठूलोखोलामा आज बिहान १० बजेको समयमा ठक्कर दिएको हो । ठक्कर दिने टिपर र त्यसका चालकलाई कारबाहीका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर