राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर काम गर्न सशस्त्र प्रहरीलाई गृहसचिव भट्टराईकाे निर्देशन

गृहसचिव दिनेश भट्टराईले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हल्चोक, स्वयम्भूको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणका क्रममा सचिव भट्टराईले सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई आवश्यक निर्देशनसमेत दिएका छन् ।

गृहसचिव भट्टराईले नेपाल सरकार गृह मन्त्रालय नेतृत्वबाट अगाडि सारिएका मूल्यमान्यता, निष्ठा र आदर्शलाई आत्मसात गर्दै कानून र विधिद्वारा स्थापित आफ्ना जिम्मेवारीहरूसमेत मनन गर्दै राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर तोकिएका जिम्मेवारीहरू व्यावसायिक ढङ्गले उच्च मनोबलका साथ वहन गर्न सङ्गठनका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।

उनले सशस्त्र प्रहरी बल, नेपालको पृष्ठभुमि, सङ्गठनात्मक संरचना, काम-कर्तव्य र अधिकार, जिम्मेवारीअन्तर्गतका विषयहरूमा शान्तिसुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, दङ्गा नियन्त्रण, सार्वजनिक सम्पत्तिको संरक्षण, राजस्व, भन्सार तथा औद्योगिक सुरक्षा, कानूनको कार्यान्वयन, विशिष्ट व्यक्तिहरूको सुरक्षालगायतका विषयहरूमा सङ्गठनबाट भए/गरेका गतिविधि, प्राप्त भएका उपलब्धि र अगाडि देखापरेका समस्या तथा चुनौतीहरूलाई समेटेर गरिएको प्रस्तुतीकरणले सङ्गठनको समग्र क्रियाकलापबारे थप जानकारी प्राप्त भएको बताए ।

उनले शान्तिसुरक्षा र प्रतिबद्धताको मूल मन्त्रलाई आत्मसात गरी सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै विभिन्न आरोह-अवरोह पार गर्दै कार्यक्षेत्रमा आइपरेका सुरक्षा चुनौतीहरूलाई सामना गरी नागरिकको जीउधनको सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व सुरक्षा, औद्योगिक सुरक्षालगायतका जिम्मेवारी निर्वाहमा अहोरात्र खटिने सकल दर्जाका कर्मचारीहरूको समर्पण भाव, कर्तव्यपरायणता र लगनशीलताको प्रशंसा गर। राज्यले सुम्पेका जिम्मेवारीहरू सँगसँगै सशस्त्र प्रहरी बलले भइपरी आउने विषम परिस्थितिहरूमा समेत आफ्नो क्षमता, व्यावसायिकता, उच्च पेशागत दक्षता प्रदर्शन गरी राज्यको सक्षम सुरक्षा निकायको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको बताए ।

गृहसचिव भट्टराईले सशस्त्र प्रहरी बल, नेपालले सीमित स्राेत साधनका बाबजुद कठिन परिस्थिति र स्थानमा समेत सीमा सुरक्षार्थ तैनाथ रहेको र प्रतिकूल अवस्थामा रहेका बीओपीहरूको सुधारका लागि समयानुकूल बन्दोबस्त व्यवस्थापनमा गृह मन्त्रालय सदैव सकारात्मक रहेको भन्दै प्रहरीलाई प्रविधिमैत्री, चलायमान र सीमा सुरक्षाको डेडिकेटड फोर्स बनाउनुपर्ने उल्लेख गरे ।

उनले शान्तिसुरक्षा कायम गर्न सशस्त्रका कर्मचारीहरूले सक्षमता, निपुणता तथा तदारुकताका साथ कार्य गर्ने अपेक्षा राखेको बताउँदै विपद् प्रतिकार्यको पूर्वतयारीमा जुट्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर