एभरेष्ट बैंकका कर्मचारीकै संलग्नतामा खातावालाको ‘कनेक्ट आइपीएस’को सूचना चुहाएर डेढ करोड चोरी

एभरेष्ट बैंकका कर्मचारीको योजनामा ग्राहकहरुको डेढ करोड रुपैयाँभन्दा बढि रकम चोरी भएको छ । बैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो।

प्रहरीले घटनाको अनुसन्धानमा बैंकका कर्मचारीसहित नौजनालाई पक्राउ गरेपछि घटना बाहिर आएको हो । उनीहरुले ३३ जना बचतकर्ताको खाताबाट रकम चोरी गरेका थिए । पक्राउ पर्नेमध्ये सात जना बैंकका कर्मचारी हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो । पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसमार्फत सो रकम निकालेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

बैंकका कर्मचारीले ग्राहकको कनेक्ट आईपीएसको आ‍इडी पासवर्ड चोरेर रकम पठाउने गरेका थिए । त्यस्तै कोर बैंकिङ्क सिस्टम (सीबीएस) बाट चल्तीमा नरहेका खातामा पठाउने र नक्कली चेक प्रयोग गरेर सो रकम निकाल्ने गरेको अनुसन्धानमा खुलेको छ । रकम अन्य बैंकको विभिन्न खातामा समेत पठाएको खुलेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसेका ४२ वर्षीय विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर–८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरु २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई पक्राउ गरेको हो ।

त्यस्तै धनुसाको मिथिला नगरपालिका– ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका–२ का २७ वर्षीय अजय खिउजू पक्राउ परेका छन् ।

अनुसन्धान अधिकारीका अनुसार ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरी गरी र नक्कली चेक बनाएर रकम झिक्ने गिरोहका नाइके गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधान रहेको अनुसन्धानमा खुलेको छ ।

प्रधानको २८ फागुन २०७९ मा इटहरीबाट गाइघाट शाखामा सरुवा भएको थियो । उनको योजनामा २८ कात्तिक २०७९ देखि १७ चैत्र २०७९ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको थियो । त्यस्तै नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले २०७९ चैत १२ गते एभरेष्ट बैंक गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधानलाई पक्राउ गरेको थियो । प्रधानसँगको सोधपुछपछि बैंकभित्रको संगठित गिरोह र घटना बाहिर आएको हो ।

प्रहरीले घटनामा संलग्नहरुलाई पटक पटक गरेर पक्राउ गरेको हो । घटनाको बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर