नेपाललाई मनी लाउण्डरिङको कालोसूचीबाट जोगाउन विधेयक चाँडो पास गर्नुपर्छ : मन्त्री गुरुङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वित्तीय अपराध नियन्त्रणमा नेपालको कानूनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सोमबारको प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्पत्ति शुद्धीकरण निवारण ऐन विधेयकको विषयमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्।

उनले सम्पत्ति शुद्धीकरण निवारण विधेयक छिट्टै संसदबाट पास गरेर मनी लाउण्डरिङको कालोसूचीमा पर्नबाट जोगाउन आवश्यक रहेको बताए। उनले आर्थिक अपराध नियन्त्रण राज्यको दायित्व हो भन्ने कुरा स्थापित गर्न पनि २०८० जेठभित्र प्रस्तुत विधेयक पारित गर्न, थप दण्डसजाय व्यवस्था गर्न आवश्यक रहेको बताए।

मन्त्री गुरुङले आर्थिक अपराधमा अनुसन्धान तथा अभियोजन प्रभावकारी बनाउन र नियमन तथा सुपरीवेक्षणतर्फ कमजोर देखिएका क्षेत्रमा उल्लेख्य रूपमा सुधार गर्न विधेयक पास हुनुपर्ने बताए। उनले सम्पत्ति शुद्धीकरण निवारण ऐन विधेयक बनाएर आर्थिक अपराध नियन्त्रणमा सरकार प्रतिबद्ध छ भन्ने सन्देश नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायमा जान सक्नुपर्ने बताए।

उनले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा कालोसूचीमा पर्नबाट जोगाउन भए पनि सरकारले प्रस्तुत गरेको विधेयकलाई समितिको प्राथमिकतामा राखि पारित गर्न आग्रह गरे। उनले विधेयक ल्याउन ढिला भइसकेकाले समितिले छिट्टै निष्कर्षमा पुर्‍याएर वित्तीय अपराध नियन्त्रणमा सहयोग गर्नुपर्ने बताए।

उनले सम्पत्ति शुद्धीकरण निवारण संशेधन ऐनमा घरजग्गासम्बन्धी व्यवसायमा कारोबार गर्ने व्यक्तिले लाइसेन्स लिएर मात्रै त्यस्तो कारोबार गर्न सकिने व्यवस्था गरिएको बताए। उनले क्यासिनो विषयमा ऐनबाट नै नियमन गर्ने, सहकारीको नियमनलाई प्रभावकारी बनाउने गरी आएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर