नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकर

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निकट भविष्यमा हुने भारत भ्रमणको तयारी तीव्र पारिएका बेला राजदूत शर्माले बिहीबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत विदेशमन्त्री जयशंकरसँग आफूले भेटेको जानकारी राजदूत शर्माले गराएका हुन्। भेटमा आफूहरूले आगामी दिनमा नेपाल-भारत सम्बन्धलाई अझ बृहत् र गहिरो बनाउने इच्छा र प्रतिबद्धता व्यक्त गरेको राजदूत शर्माले उल्लेख गरेका छन्।

भेटबारे विदेशमन्त्री जयशंकरले पनि ट्विट गरेका छन्। उनले पनि दुई देशको गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको जनाएका छन्।

उनले लेखेका छन्, ‘हाम्रो गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भयो। आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छौं।’

प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणका लागि नेपाल र भारत दुवै देशले आवश्यक तयारी गरिरहेका छन्। उनकाे भारत भ्रमण अर्को साता हुँदै छ।

भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्ने तयारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर