‘शान्ति स्थापनार्थ योगदानले सेना, प्रहरी र सशस्त्र प्रहरीले विश्वकै सम्मान र प्रशंसा कमाएका छन्’

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले द्वन्द्वग्रस्त मुुलुकहरूमा शान्ति स्थापनाका लागि नेपाली शान्ति सैनिक, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालले अतुलनीय योगदान र समर्पण गरेको बताएका छन्।

द्वन्दग्रस्त सहारा मरूभूमिदेखि कठ्यांग्रिने माउण्ट हर्मनलगायत विश्वका जटिल स्थानहरूमा कैयौंको जीवन रक्षा गर्नुका साथै जीवनस्तर सुधारमा यी तीन सुरक्षा निकायले अतुलनीय योगदान र समर्पण गरेको बताएका हुन्।

सोही कारण यिनीहरूले विश्वका मानिसहरूको सम्मान र प्रशंसा कमाएको उनले बताए। संयुक्त राष्ट्र शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस-२०२३ को अवसरमा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजित विशेष कार्यक्रममा उनले यी कुरा बताएका हुन्।

विश्व शान्ति स्थापनार्थ विभिन्न मुलुकहरूमा खटिने शान्ति सैनिकहरूले पुर्‍याएको योगदानको स्मरण र कदरस्वरूप हरेक वर्ष नेपाली सेनाले विविध कार्यक्रमको आयोजना गरी संयुक्त राष्ट्र शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाउने गरेको छ। यस वर्ष ‘शान्ति मबाटै सुरू हुन्छ’ नारासहित दिवस मनाइएको हो।

कार्यक्रममा प्रधानसेनापति शर्माले नेपाली शान्ति सैनिकहरू तथा शान्ति स्थापना कार्यमा संलग्न नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बल, नेपालका सकलदर्जाहरू संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेखित लक्ष्य र उद्देश्यहरू पूरा गर्न दृढ रहेको कारण नै नेपाल संयुक्त राष्ट्रसंघको एक विश्वसनीय सदस्यको रूपमा रहेको बताए।

उनले शान्ति सेनामा सहभागिता नेपालको परराष्ट्र नीतिको एक महत्त्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै विश्व शान्ति स्थापनार्थ विश्वसनीय र पेशेवर सेनाको योगदान पुर्‍याउने राष्ट्रहरूमध्ये नेपाल अग्रपंक्तिमा रहेको बताए।

उनले विश्व शान्ति स्थापनार्थ आफ्नो ज्यानको आहुति दिने वीर सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले पुर्‍याएको योगदानको संयुक्त राष्ट्रसंघ, राष्ट्र र नेपाली सेनाले सदैव सम्मान र कदर गर्ने बताए।

कार्यक्रमका दौरान प्रधानसेनापति शर्माले विश्व शान्ति स्थापनाको सिलसिलामा वीरगति प्राप्त गरेका शान्ति सैनिकहरूको सम्मानमा शान्ति स्मारकमा माल्यार्पण गर्नुका साथै संयुक्त राष्ट्रसंघको झण्डोत्तोलन गरेका थिए। उनले यस वर्ष शान्ति स्थापना कार्यमा निःस्वार्थ भावनाले बहादुरीपूर्वक कार्य गरी विशेष योगदान पुर्‍याएका ४ जना सकलदर्जा र वीरगति प्राप्त ३ जना सकलदर्जाका परिवारलाई सम्मानपत्र प्रदान गरे।

उनले शान्ति स्थापनार्थ कार्यरत रहँदा वीरगति पाउने एक जना नेपाली शान्ति सैनिकको सम्मानमा प्राप्त ‘डाग हमार्स्कजल्ड मेडल’ र कदरपत्र उनकी श्रीमतीलाई हस्तान्तरण गरे।

कार्यक्रममा पूर्वप्रधानसेनापतिहरू, रक्षासचिव किरणराज शर्मा, बलाधिकृत रथी सरोजप्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल, बहालवाला तथा अवकाशप्राप्त रथीहरू, पाँचखाल नगरपालिकाका मेयर, संयुक्त राष्ट्रसंघीय शान्ति कार्यमा संलग्न हुने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू, काभ्रेपलाञ्चोक जिल्लाका सरकारी निकायका पदाधिकारीहरू, नेपाली सेनाका अधिकृत, नेपालमा कार्यरत विभिन्न राष्ट्रका सैनिक सहचारीहरूलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *