कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैन : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरूलाई समयमा नै नागरिकसमक्ष पुर्‍याउन नसकिएको बताएकी छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।

उनले संविधानमा व्यवस्था गरेका कुराहरू लक्षित समुदायले थाहा पाउनै नसक्दा विभिन्न समस्या सिर्जना भइरहेको उल्लेख गरिन्। उनले कानूनले १८ वर्षभन्दा कम उमेर समूहका महिलामाथि शारीरिक सम्बन्ध राख्नुलाई बलात्कार हुने कुरा उल्लेख गरे पनि कानूनको बारेमा लक्षित समुदायसम्म बुझाउन नसक्दा कतिपय मानिसहरू बलात्कारको मुद्दामा परिरहेको बताइन्।

उनले कानून लक्षित समुदायमा समयमा नै पुर्‍याउन नसकेका कारण १८ वर्षमुनिका महिलामाथि शारीरिक सम्बन्ध राखी बलात्कारको मुद्दामा पर्नेहरूको संख्या बढिरहेको बताइन्। उनले पैतृक सम्पत्तिको समानताको बारेमा पनि लक्षित समुदायमा सूचना पुर्‍याउन नसकिएको बताइन्।

मन्त्री शर्माले गणतन्त्र दिवस कर्मकाण्डी तरिकाले मनाउन नहुने बताइन्। मन्त्री शर्माले गणतन्त्रका उपलब्धिहरू उल्ट्याउने प्रयास भइरहेको भन्दै उपलब्धिको समीक्षा गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरिन्।

उनले राजनीतिक दलहरूले आफूले गरेका गल्तीको समीक्षा गरी सच्याएर जान जरुरी रहेको बताइन्। उनले सञ्चारमाध्यमहरूमा आफ्ना समाचार सामग्री उत्कृष्ट बनाउने कुरामा प्रतिस्पर्धा हुनुपर्ने बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर