कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई एमालेको सम्मान

नेकपा (एमाले) ले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल उनलाई पुष्पगुच्छासहित सम्मान गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उनको सगरमाथाको सफल आरोहण अपांगता भएका व्यक्तिहरूको मात्रै नभएर सबै नेपालीहरू र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए।

मान्छेले साहस, संकल्प गर्‍याे भने जस्तोसुकै कठिन काम पनि गर्न सक्छ भन्ने उदाहरण उनले विश्वमा नै पेस गरेकाले पार्टीले उनलाई सम्मान गरेको पनि स्पष्ट पारे।

अध्यक्ष ओलीले उनको सो सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गरे। उनको सो असाधारण काममा सघाउ पुर्‍याउने र प्रेरणा दिनेहरूप्रति पनि ओलीले आभार व्यक्त गरे।

कार्यक्रममा बोल्दै कीर्तिमानी सगरमाथा आरोही बुढामगरले अपांगता भएका व्यक्तिहरूमा जागरण ल्याउने उद्देश्यले आफूले सगरमाथा आरोहण गरेको बताए। उनले अपांगता भएका व्यक्तिहरूलाई दया र मायाभन्दा पनि साथ र अवसर दिन आग्रह गरे।

बुढामगरले आफ्नो सगरमाथा आरोहणले नेपाल र नेपालीको शिर सगरमाथाभन्दा उचो राख्न सहयोग पुगेको होला भन्ने आशा आफूले राखेको पनि बताए।

ब्रिटिश गोर्खा सेनामा कार्यरत रहँदा बुढामगरले लडाइँमा दुवै खुट्टा गुमाएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर