भारत भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरू र विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन्।

जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहालले आइतबार अपराह्न आफ्नै सरकारी कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूसँग सुझाव लिएका हुन्।

आफूले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूसँग भारत भ्रमणबारे सुझाव लिएको प्रधानमन्त्री दाहालले बताए। उनले सबैले राष्ट्रको हितमा केन्द्रित भएर भारतसँग छलफल गर्न सुझाव दिएको पनि बताए।

‘भारत भ्रमणको बारेमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, सबै दलका नेताहरू, विज्ञहरूको सुझाव लिने क्रम चलिराखेको छ। मैले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव सुनेँ,’ प्रधानमन्त्री दाहालले भने, ‘अरूको सुझाव आउँदै छ। सबैले राष्ट्रको हितमा के गर्नुपर्छ भनेर सकारात्मक सुझाव दिनुभएको छ।’

छलफलको क्रममा नेताहरूले भने राष्ट्रिय हितलाई सर्वोपरी ठानेर भारतसँग छलफल गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए। प्रवुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन ग्रहण गरेर अघि बढ्नुपर्ने विषयमा जोड दिन आफूले सुझाव दिएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानकारी दिए।

उनले त्यसमा दुई मुलुकबीचको समस्या समाधान हुने कुरा उल्लेख गरिएकाले त्यसलाई ग्रहण गर्ने विषयमा भारत सहमत हुने गरी छलफल गर्नुपर्ने बताए।

राष्ट्रिय हितमा दृढतापूर्वक उभिएर भारतसँग कुरा गर्न आफूले सुझाव दिएको पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले बताए। उनले ईपीजी प्रतिवेदन बुझ्ने कुरामा पनि भारतसँग जोड दिएर छलफल गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएको बताए।

उपमहासचिव ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग नेपालले उपयोग गर्न पाउने गरी छलफल गर्न पनि पार्टीको तर्फबाट सुझाव दिइएको बताए।

राष्ट्रिय हितलाई सर्वोपरी ठानेर आत्मविश्वासका साथ भारतसँग आफ्ना कुरा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले बताए। उनले विगतमा गरिएका समझदारीको कार्यान्वयन र व्यापार घाटा कम गर्ने विषयमा पनि भारतसँग गम्भीरतापूर्वक छलफल गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालको आत्मासम्मानमा चोट नपु¥याउने गरी भारतसँग छलफल गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएको बताए। उनले आपसी हितका विषयमा कुरा गरेर विश्वासको वातावरण सिर्जना गर्न पनि आफूले प्रधानमन्त्रीलाई परामर्श दिएको बताए।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले दुई मुलुकबीचको सीमा विवाद समाधान हुने गरी तथ्यहरूसहित भारतसँग छलफल गर्न आफूले सुझाव दिएको बताए। उनले विगतमा गरिएका समझदारी कार्यान्वयनको विषयमा पनि छलफलमा जोड दिनुपर्ने बताए।

प्रधानमन्त्री दाहालले यही जेठ १७ गतेदेखि भारतको चार दिने औपचारिक भ्रमण गर्दैछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर