चर्च ब्वाइज पहिलो सिजनमै च्याम्पियन

साविक विजेता मच्छिन्द्र फुटबल क्लवलाई हेड टु हेडमा पछि पार्दै यसै सिजन बढुवा भएको चर्च ब्वाइज शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न २५ औं खेलमा थ्री स्टार क्लबसँग गोलरहित बराबरीमा रोकिएसँगै चर्च ब्वाइज एक खेल अगावै मच्छिन्द्रलाई हेड टु हेडमा पछाडि पार्दै लिगको च्याम्पियन भएको हो ।

चर्च ब्वाइजले मच्छिन्द्रलाई पहिलो लेगमा गोलरहित बराबरी र दोस्रो खेलमा २-१ ले हराएको आधारमा ४४ औं संस्करणको शहीद स्मारक ‘ए’ डिभजिन लिग च्याम्पिन भएको हो ।

पहिलो सिजनमा उपाधि उचालेको चर्च ब्वाइज लिगको उपाधि उचाल्ने १६ औं टोली भएको छ। यसअघि मनाङ मर्स्याङ्दी फुटबल क्लबले सर्वाधिक ८ पटक उपाधि उचालेको छ भने रानीपोखरी कर्नर टिम (आरसीटी) ले ६ पटक लिगको उपाधि उचालेको छ । साथै चर्च ब्वाइज मनाङ मर्स्याङ्दी पछि लगातार ए, बी र सी डिभिजन लिग जित्ने दोस्रो टोली भएको छ ।

२०६६ सालमा स्थापना भएको चर्च ब्वाइज २०७८ मा सी च्याम्पियन, २०७९ मा बी च्याम्पिन हुँद शीर्ष डिभिजन लिगमा उक्लिएको थियो । यसअघि मनाङ २०४१ मा सी च्याम्पियन हुँदै बी डिभिजनमा उक्लिएको मनाङले २०४२ मा नै बी च्याम्पियन र २०४३ मा ए डिभिजन लिगको च्याम्पियन भएको थियो ।

१४ वर्षको समयावधिमा नयाँ च्याम्प्यिन चर्च ब्वाइजले २५ औं चरणसम्म आइपुग्दा १२ जित, ९ बराबरी र ४ खेल गुमाएको छ र एक खेल खुमलटारसँग खेल्न बाँकी छ । यस्तै प्रशिक्षक बालगोपाल महर्जनको नाममा पनि पहिलो शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि हात लागेको छ । २०६१ सालमा खेलाडीको रूपमा थ्री स्टारका लागि शीर्ष डिभिजन लिगको उपाधि उचालेको बालगोपालले २०८० मा चर्च ब्वाइजलाई प्रशिक्षकको रूपमा उपाधि दिलाउन सफल भएका हुन् ।

नेपाली फुुटबलमा सफल प्रशिक्षकको रुपमा चिनिएका बालगोपाल महर्जनजले नेपालकालागि उमेर समूह र केही अन्तर्राष्ट्रिय उपाधि दिलाउन सफल भएका छन् । सातौं चरणसम्म प्रदीप हुमागाईंले प्रशिक्षण गरेको टोलीलाई त्यसपछि बालगोपालले सम्हालेका थिए ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोली चर्च ब्वाइज र थ्री स्टारले स्पष्ट जितका लागि खेल पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा रोकिन पुगेका हुन् । बराबरीपछि चर्च ब्वाइज दोस्रो स्थानको मच्छिन्द्रभन्दा ६ अंकले अघि रहेको छ । अब बाँकी दुवै खेल जिते पनि मच्छिन्द्र हेड टु हेडमा पछि पर्नेछ । मच्छिन्द्रले २४ खेलमा ३९ अंक जोडेको छ । यता बराबरीमा रोकिएको थ्री स्टार २५ खेलमा २८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

लिगअन्र्तगत मंगलबार नै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेलेका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलको दोस्रो मिनेटमा दिनेश हेन्जनको गोलबाट अग्रता लिएको आर्मीले कायम राख्न असफल भएको थियो ।

३९ औं मिनेटमा अहम्मेद हिजाजीले गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए । त्यसपछिको बाँकी समयमा दुवै टोलीले स्पष्ट अंकका लागि प्रयास गरे पनि सफल हुन सकेनन् र अंक बाँड्न बाध्य बन्यो । यस नतिजासँगै आर्मीको २५ खेलबाट ३१ अंक भएको छ भने पुलिसको समान खेलबाट ३८ अंक छ ।

यस्तै च्यासल मैदानमा भएको खेलमा रेलिगेशन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको खुमलटारले बलियो एपीएफमाथि ३–१ को रोमाञ्चक जित निकाल्यो । विभागीय टोली एपीएफमाथि सुरुवातबाट नै गर या मरको अवस्थामा मैदान उत्रिएको खुमलटारले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा एक गोल गरेर एक गोल खान पुगेको थियो ।

पहिलो हाफमा अग्रता दिलाउने क्रममा मेसुके ओलोमोउले १३ औं र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई २–० को अग्रता निकालेका थिए । दोस्रो हाफमा पनि आक्रमक खेललाई निरन्तरता दिएको खुमलटारका लागि ५५ औं मिनेटमा स्टेफन विनोङले टोलीका लागि तेस्रो गोल थप्दा दोस्रो हाफमा इन्जुरी समयमा एपीएफका सनिस श्रेष्ठले सान्त्वना गोल फर्काएका थिए । जितसँगै खुमलटारको २५ खेलमा २७ अंक जोडेको छ । पराजित व्यहोरेको एपीएफ समान खेलबाट ३० अंक छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *