खाद्य स्वच्छतासम्बन्धी विधेयक चाँडै संसदमा आउँछ : मन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले खाद्य शिक्षा र पोषण शिक्षासम्बन्धी सचेतना अभियान सुरु गर्न जरुरी रहेको बताएका छन्। बुधबार विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले खाद्यान्न स्वच्छ, सफा हुनुपर्ने, खाद्यान्नको सुरक्षा हुनुपर्ने भन्ने कुरा निश्चित समूहमा मात्रै पुग्ने गरेकाले आम मानिसमा यसको प्रचारप्रसार हुन जरुरी रहेको बताए। उनले खाद्य शिक्षा र पोषण शिक्षाका बारेमा सचेताना अभियानका मन्त्रालयले रकम छुट्याएर काम गर्ने पनि प्रतिबद्धता जनाए।

उनले एकले अर्कालाई ढाँट्नु भनेको अपराध भएकाले सबैले कसैलाई पनि नढाँटी काम गर्न जरुरी रहेको बताए। उनले खाद्य स्वच्छतासम्बन्धी विधेयक गत वर्ष नै राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा अड्किएको र आफूले संसदमा प्रस्तुत गर्न सभामुखसँग आग्रह गरिसकेकाले अब चाँडै नै खाद्य स्वच्छतासम्बन्धी विधेयक संसदमा आउने बताए।

कार्यक्रममा उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले खाद्य स्वच्छता तथा गुणस्तर ऐन संविधान निर्माण भएको तीन वर्षभित्र आउनुपर्नेमा अहिलेसम्म नआएकोप्रति आपत्ति जनाइन्।

उनले मौलिक हकको तर्फबाट आउनुपर्ने ऐन नै नआउँदा समस्या भइरहेको बताइन्। उनले मन्त्री भुसाललाई हिउँदे अधिवेशनमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन ल्याइसक्ने प्रतिबद्धता जनाउन आग्रह गरिन्।

‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ भन्ने नारासहित यस वर्षको विश्व खाद्य स्वच्छता दिवस मनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर