राँगा-भैंसीकाे गफ गरेर पाँच वर्ष बिताउने हो भने गोबरबाहेक केही पाउँदैनौं : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका सांसदहरूको केही दिनयताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले विगत केही दिनयता प्रतिनिधिसभामा भएको छलफलबाट आफू लज्जित भएको बताएका हुन्।

उनले प्रतिनिधिसभा बैठकमा राँगा र भैंसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबरबाहेक केही पनि नपाउने बताए। उनले सो विषयमा गरेको गफप्रति आफू आत्मआलोचित भएको बताए।

‘यो सदन भैंसी, राँगाको विषयमा गफ गरेर यदि पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौं। हामी आत्मआलोचना गर्न चाहन्छौं,’ उनले भने, ‘हाम्रा दलबाट पनि भएका कमी-कमजोरीलाई आत्मआलोचना गर्न चाहन्छौं र नयाँ राजनीतिक दलका रूपमा हामी एउटा नयाँ अभ्यास लिएर आएका छौं।’

सभापति लामिछानेले बजेटको विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमा याचना गर्ने बताए।

उनले हचुवाको भरमा बजेट निर्माण भएको टिप्पणी गरे। उनले बजेट राजस्वमा आधारित भएको भन्दै कार्यान्वयनमा आशंका गरे।

उनले गोरखा, नुवाकोट र डडेलधुरामा मात्रै विकास बजेट गएको समाचारहरू बाहिरिएको भन्दै यस सम्बन्धमा अर्थमन्त्रीको जवाफ माग गरे। उनले बजेटमा विदेशमा भएका नेपालीलाई मताधिकार दिने विषय नपरेकोमा असन्तुष्टि व्यक्त गरे।

सभापति लामिछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरे। त्यसैगरी उनले आगामी दिनमा बजेट बन्नुभन्दा ५ महिना अगाडि नै शिक्षा र स्वास्थ्य नीति कस्तो बनाउने भन्ने सम्बन्धमा बृहत् छलफल गरेर साझा अवधारणा बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै आफूहरू जन्मसिद्ध नागरिकहरूले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै नागरिकता विधेयकबारे संसदमा छलफल हुनुपर्ने र आफूहरूले छलफलमा भाग लिन पाउनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर