प्रतिनिधिसभामा उठ्यो लम्पीस्किनदेखि लूसम्मको विषय

प्रतिनिधिसभा सदस्य विमला सुवेदीले गाईवस्तुमा देखा रेको लम्पीस्किन रोगको प्रभावकारी नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सुवेदीले देशभर गाईवस्तुमा लम्पीस्किन रोग फैलिएको भन्दै यसका लागि औषधि उपचार गर्न र प्रभावकारी नियन्त्रण गर्न सरकारसँग माग गरेकी हुन्।

उनले सरकारले बीमा कम्पनीलाई बुझाउनुपर्ने प्रिमियम नबुझाएका कारण किसानले पाउनुपर्ने बीमा रकमसमेत नपाएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन्।

प्रतिनिधिसभा सदस्य मनिष झाले तराईमा तातो हावाका कारण जनजीवन प्रभावित भइरहेकोतर्फ सरकारलाई सजग गराउँदै स्वास्थ्य संस्थाहरूले आवश्यक तयारी गर्नुपर्ने बताए।

प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले किसानले मौसमअनुरूपका विभिन्न समस्याहरू खेप्नुपरेको भन्दै उनीहरूलाई समस्याअनुरूपको राहत तथा क्षतिपूर्ति दिन सरकारसँग माग गरे।

प्रतिनिधिसभा सदस्य माधव सापकोटाले असार १ गतेदेखि गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै यात्रुवाहक बस छुट्ने व्यवस्थाको अन्त्य गर्न काठमाडौं महानगरपालिका र सम्बन्धित मन्त्रालयलाई आग्रह गरे।

प्रतिनिधिसभा सदस्य रघुजी पन्तले भारतको प्रतिरोधस्वरूप नेपालले टिस्टा, काँगडासम्म भएको आफ्नो नक्सा संसद् भवनमा राख्ने प्रस्ताव गरे।

प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा बोलिएका कुराहरू रेकर्डबाट हटाउने चलन अन्त्य गर्न आग्रह गरे।

उनले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी निर्माणका क्रममा हराएको सुनका सम्बन्धमा प्रश्न उठाउँदा बैठकको रेकर्डबाट हटाइएको भन्दै आफू त्यसरी रेकर्डबाट हटाउने कुराको विरुद्धमा रहेको उल्लेख गरे।

प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले विद्यालयका कर्मचारी र बालविकास शिक्षकको माग सम्बोधन गर्न सरकारसँग माग गरे।

उनले संघीय शिक्षा ऐन संसदको यसै अधिवेशनमा ल्याउन पनि माग गरे।

उनले संघीय निजामती सेवा ऐन पनि संसदको यसै सदनमा ल्याएर पारित गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर