रास्वपामाथि अन्य दलहरूले घेराबन्दी गरिरहेका छन् : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा विजय हासिल गर्ने अवस्था देखिएपछि पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि अन्य दलले घेराबन्दी गरिरहेको बताएका हुन्।

घेराबन्दी गरे पनि पार्टी नडराउने उनको भनाइ थियो।

‘तपाईंहरूलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ। हो, नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्,’ उनले भने, ‘सातो जाने खालको छ तर हामी डराउँदैनौं। २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम जनताले घरघरमा महसुस गरिसकेका छन्।’

उनले थपे, ‘तर त्यो अनुमानलाई बाधा पुर्‍याउन अहिलेदेखि नै प्रयासहरू चलेको छ। त्यसमा हामी चनाखो हुँदै जानुपर्छ।’

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागकिरता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरूले पनि अकर्मण्यता देखाएको उनको भनाइ छ।

उनले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको बताए।

उनले वैवाहिक अंगीकृतका हकमा पनि यस नागकिरता विधेयकले बोलोस् भन्ने चाहे पनि संसदमा नलगीकन प्रमाणीकरण गर्नुले सरकारको बाटो स्पष्ट भएको बताए।

आफ्नो पार्टीले नेपाली नागरिकले नागकिरता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरु सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको बताए।

‘हामीले वैवाहिक अंगीकृतका हकमा पनि यसले केही बोलोस् भनेका हौं। हामीले सही ढंगबाट आओस् भनेका छौं। हामीले नेपाली आमाका छोराछोरीले नागकिरता नपाउन् भनेर बोलेकै छैन,’ उनले भने, ‘जन्मसिद्ध नागरिकले नागकिरता पाउनुपर्छ भनेका छौं। महिलामाथि विभेद छ, प्रावधान राखेर ल्याइएको छ, अपराधकारी कुराको सम्बोधन हुनुपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *