कुष्ठरोगीको उपचारका लागि हरियोखर्क अस्पतालमा ‘आइलिन एण्ड बेट्टी’ सेन्टर

इन्टरनेशनल नेपाल फेलोसिप (आईएनएफ)ले पोखराको नयाँगाउँस्थित हरियोखर्क अस्पतालमा आइलिन एण्ड बेट्टी सेन्टर भवनको स्थापना गरेको छ।

कुष्ठरोगका बिरामीको उपचारमा थप सहजताका लागि हरियोखर्क अस्पतालले सो भवन निर्माण गरी शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

वि. सं. २०१४ मा कुुष्ठ प्रभावितको स्वास्थ्य समस्या तथा उपचार केन्द्रका लागि नयाँ गाउँमा हरियोखर्क अस्पताल निर्माण गर्ने तत्कालीन बेलायती नागरिक आइलिन लज र बेट्टी बेलीको स्मरणमा निर्माण गरिएको सो भवनमा ३० शय्या छन्। यससँगै अस्पतालमा एक सय शय्यामा कुष्ठरोगका बिरामीको उपचार हुने बताइन्छ।

हरियोखर्क अस्पतालमा छाला तथा कुष्ठरोग, मेरुदण्ड पक्षघात, कानसम्बन्धी रोगहरूको निदान, हाडजोर्नी, शारीरिक पुनःस्थापना सेवालगायतका उपचार सेवा प्रदान गर्दै आएको छ।

आइलिन एण्ड बेट्टी सेन्टर भवन दुई करोड ७४ लाख ४९ हजार ७०४ रुपैयाँ लागतमा निर्माण गरिएको आईएनएफका स्वास्थ्य सेवा निर्देशक डा. अरुणकुमार बुढाले बताए। उनका अनुसार भवनमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एक करोड ५० लाख, आईएनएफ यूकेको एक करोड एक लाख १२ हजार र आईएनएफ क्यानाडको २३ लाख ३७ हजार ७०४ रुपैयाँ लगानी भएको छ।

सुविधासम्पन्न नयाँ भवन निर्माण र शय्या वृद्धि भएसँगै बिरामीको उपचारमा सुविधा पुग्ने अस्पतालले जनाएको छ। आईएनएफले वि. सं. २००९ देखि नेपालका गरिब तथा सुविधाबाट वञ्चित नागरिकको जीवनमा सहजता ल्याउने उद्देश्यले विपन्न र विकट समुदायमा स्वास्थ्य तथा विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

आईएनएफले पोखरा, बाँके र सुर्खेतमा अवस्थित आफ्ना तीन अस्पतालमा विभिन्न उपचार सेवा प्रदान गर्दै आएको छ। हाल हरियोखर्क अस्पताल कुष्ठरोगको उपचारका लागि पर्यायवाची बनेको छ।

हरियोखर्क अस्पताललाई अपांगतामा आधारित पाँच सय शय्याको विशिष्ट अस्पालको रूपमा विकास गर्दै लैजाने भावी कार्यक्रम रहेको बताइन्छ। आईएनएफले शून्य कुष्ठरोग रणनीतिसमेत सार्वजनिक गरेको छ।

आईएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्ण रूपमा निवारण गरी कुष्ठरोमुक्त नेपाल बनाउने लक्ष्य लिएकामा सो लक्ष्यलाई साकार पार्न संस्थाले रणनीतिक योजना तयार गरेको बताए।

सरकारको अभियानलाई आईएफनले पूर्ण सहयोग गर्ने गरी कार्ययोजना बनाएको अध्यक्ष तिमोथीले बताए।

नेपालमा कुष्ठरोगको बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार गर्न उनीहरूलाई पुनःस्थापना र कुष्ठरोगको प्रकोप दरमा कमी ल्याइ मुलुकलाई राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भएको घोषणा गर्ने स्थितिसम्म ल्याई पुर्‍याउन आईएनएफले योगदान गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर