प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधसम्बन्धी मुद्दा दर्ता, मंगलबार पेसी

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ।

लेनिन विष्टसहित ९ जना पूर्व बालसैनिकले माओवादी आन्दोलनका अगुवा नेताद्वय दाहाल र भट्टराईलाई युद्ध अपराधमा कारबाही गर्न माग गर्दै दिएको रिट निवेदन आइतबार दर्ता भएको हो। रिटको पेसी जेठ ३० मंगलबारका लागि तोकिएको छ।

यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको सो रिट निवेदन न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले दर्ता गर्न आदेश दिएको थियाे।

निवेदकहरूले दाहाल र भट्टराईले आफूहरूलाई अनाहकमा युद्धमा लगाएको दाबी रिटमा गरेका छन्। उनीहरूले अनमिनको वर्गीकरणका क्रममा आफूहरूलाई ‘अयोग्य लडाकु’ घोषित गरेर शोषण गरेको दाबीसमेत गरेका छन्।

उनीहरूले बालसैनिकका रूपमा पहिचान भएका आफूहरूजस्ता २९२७ जनालाई ‘अयोग्य लडाकु’ को मान्यता दिने निर्णयसमेत बदर गर्न माग गरेका छन्।

रिटमा आफूहरूलाई परिपूरण, क्षतिपूर्ति र न्याय दिलाउन विपक्षीहरूका नाममा परमादेश जारी गर्न निवेदकहरूले माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *