भारतले नयाँ संसदमा राखेको नक्साबारे कूटनीतिक नोट पठाउनुपर्छ : पेशागत महासंघ

पेशागत महासंघ नेपालले भारतलाई नेपाली भूमि समेटिएको नक्सा राखेको सम्बन्धमा कूटनीतिक नोट पठाई ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको छ।

संघले भारत सरकारले आफ्नो नयाँ संसद भवनमा नेपालको भूमि समेटिएको नक्सा राखेकोप्रति आपत्ति जनाउँदै कूटनीतिक नोट पठाई ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको हो।

साथै महासंघले विगतमा भएका असमान सन्धि-सम्झौता खारेज गर्न र प्राकृतिक स्रोत साधनसम्बन्धी सन्धि-सम्झौता नेपालको हितअनुरूप लागू गर्न सरकारसँग माग गरेको छ।

आइतबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव राजन रेग्मीले महासंघले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर भ्रष्टाचार गर्ने अपराधीलाई कडा कारबाही गर्न पनि माग गरेको बताए।

उनले विगतमा भएका अनियमितता र भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाहीका साथै बुहदलीय व्यवस्थाको पुनर्स्थापनायता राजनीतिक व्यक्ति र कर्मचारीतन्त्रभित्रका अकुत सम्पत्ति कमाउने व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय अधिकारसम्पन्न छानबिन समिति गठन गर्न माग गरेको बताए।

महासंघको लोगो, नाम, झण्डा, छापलगायतका सामानहरूको दुरुपयोग गर्नेहरूलाई कारबाही गर्न पनि महासंघले माग गरेको छ।

उनले आम श्रमिकका माग सम्बोधनका लागि उच्चस्तरीय श्रम आयोग गठन गर्न पनि माग गरे।

कर्मचारीहरूले पाइरहेको कुनै पनि सेवा सुविधा कटौती नगर्न पनि उसले सरकारको ध्यानाकर्षण गराएको छ।

उनले संघीय निजामती सेवा ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐनलगायतका ऐनहरू चाँडोभन्दा चाँडो जारी गर्न सरकारसँग माग गरिएको बताए।

महासंघले उच्चस्तरीय तलब सुविधा आयोगले नेपाल सरकारसमक्ष सिफारिस गरेअनुसारको तबव सुविधा लागू गर्न सरकारसँग माग गरेको छ।

सहकारीका समस्या समयमै समाधान गर्न, सार्वजनिक संस्थानहरूको सुधार गरी ७५३ वटै पालिकासम्म सेवा विस्तार गर्न पनि ध्यानाकर्षण गराइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर