खडेरीले उखु सुक्न थालेपछि कञ्चनपुरका किसान चिन्तित

कञ्चनपुरमा लामो समयदेखि पानी नपर्दा अत्यधिक गर्मी बढेसँगै उखु सुक्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । आम्दानीको स्रोतको रुपमा रहेको उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

कञ्चनपुरको लालझाडी गाउँपालिका-३, नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त छन् । उनले दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गरेका छन् । ‘पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै रह्यो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ’, उनले भने, ‘खेती जगाउन हम्मेहम्मे परेको छ ।’

बेलौरी नगरपालिका-१०, भुडाका धनीदत्त भट्ट खेतको उखु कसरी जोगाउने भनेर चिन्तित छन् । दुई बिगाहा जग्गामा उनले उखु खेती गरेका छन् । करिब आधा बिघाभन्दा बढीको उखु सुकेर नष्ट भइसकेको उनले बताए ।

‘आकाशे पानीको भरको खेततिरको उखु सुकेको छ, नहरबाट सिँचाइ हुने जमिनमा सिँचाइ गरिरहेका छौँ ।’ उखु बेचेर घरखर्च जोहो गर्ने उनी यसपटक लगानी निकाल्न पनि गाह्रो हुने बताउँछन् ।

केही दिनयता अत्यधिक गर्मी बढ्नुका साथै सिँचाइको लागि आकाशबाट पानी नपर्दा उखु खेतमै सुक्न थालेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरि जोशीले जानकारी दिए । ‘यहाँ धेरै ठाउँमा आकाशको पानीको भरमा खेती हुन्छ’, उनले भने, ‘पानी नपरेकोले र पछिल्लो समय तापक्रम पनि बढेकाले खेती सुकिरहेको छ ।’

कञ्चनपुरको पुनर्वास, बेलौरी, लालझाडी, बेलडाँडी र दोधारा चाँदनीमा बढी उखु खेती हुने गरेको छ । जिल्लाभर आठ सयदेखि एक हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कञ्चनपुरमा उखुको उत्पादन प्रतिहेक्टर ५५ देखि ६० टन हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर