झापामा बीओपी अनुगमनमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर कुटिए

झापामा बोर्डर आउट पोष्ट (बीओपी) अनुगमनमा खटिएका एक जना सशस्त्र प्रहरी निरीक्षकमाथि कुटपिट भएको छ।

सुनसरी बाहिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक नवप्रभात राईलाई स्थानीयले कुटपिट गरेका हुन्। स्रोतका अनुसार स्थानीयले उनी चढेको गाडीसमेत तोडफोड गरेका छन्।

उनलाई झापाको नकलबन्दाका स्थानीयले नक्कली इन्स्पेक्टर अवैध रकम उठाउन आएको आरोपमा कुटपिट गरेको जनाइएको छ।

मंगलबार मध्यराति एक जना सिपाही लिएर बीओपी अनुगमनका लागि भन्दै काँकडभिट्टा र बाहुनडाँगीबीच रहेको नकलबन्दा गएका थिए। उनलाई अवैध रकम उठाउन खोजेको आरोपमा स्थाीनयले कुटपिट गरेका हुन्।

राईलाई राति नै उद्धार गरेर सदरमुकाम चन्द्रगढी भद्रपुरको गणमा राखिएको थियो। हाल उनलाई घटना प्रतिवेदनसहित सुनसरीको पकलीस्थित बाहिनी हेडक्वार्टरमा पठाइएको छ।

सशस्त्रका सिपाही राम तामाङलाई लिएर राई नकलबन्दा पुगेका थिए ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले घटना छानबिनका लागि हेडक्वार्टरबाट टोली झापा पठाइएको बताए।

उनका अनुसार इन्स्पेक्टर राईविरुद्ध पनि स्थानीयले आफूहरूमाथि आक्रमणको आरोप लगाएका छन्।

‘दुईवटा आरोप छन्। स्थानीयले उहाँ (इन्स्पेक्टर राई) लाई पनि आक्रमणको आरोप लगाएका छन्,’ एसएसपी खड्काले पर्दाफाससँग भने, ‘छानबिन टोली पठाइसकेका छौं। सत्यतथ्य के हो छानबिनपछि थाहा हुन्छ।’

यता, इन्स्पेक्टर राईसहित तीन जनाको टोलीले भने उल्टै ड्युटीमा खटिएका सशस्त्र प्रहरी हवल्दारलाई निर्घात कुटपिट गरेको आरोप लागेको छ।

हतियारधारी तथा बर्दीधारी पाँच जना हवल्दारलाई सादा पोशाकमा खटिएका इन्स्पेक्टर राईले मेची नदीको पानीमा डुबाउँदै बाँसको भाटैभाटाले निर्घात कुटपिट गरेको आरोप लागेको हो।

इन्स्पेक्टर राईको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरू गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र प्रहरी जवान उमेश राजवंशी घाइते भएका जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *