५ ठाउँमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना, २ ठाउँमा स्थापनाको तयारी

सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न ५ ठाउँमा विपद् व्यवस्थापन बेस स्थापना गरेको छ भने अन्य २ ठाउँमा १/२ दिनभित्र नै स्थापनाको तयारी गरिएको छ ।

यसअघि धादिङको आदमघाट, बाराको निजगढ र धनकुटाको मूलघाटमा रहेको सुरक्षा बेसलाई विपद् व्यवस्थापन बेसको रूपमा स्तरोन्नति गरिएको छ । यस्तै म्याग्दीस्थित बेनीमा रहेको आश्रित गुल्म तथा डडेलधुराको अमरगढीस्थित नम्बर ५२ गुल्ममा अट्याच रहने गरी विपद् व्यवस्थापन बेस स्थापनमा गरिएको हो ।

आदमघाट र निजगढमा सशस्त्र प्रहरी नायब उपरीक्षक र बेनी मूलघाट तथा अमरगढीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक सामानसहित विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्ति तैनाथ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यसका साथै दाङको भालुवाङ र सुर्खेतको चिप्लेमा १/२ दिनभित्रै वेश स्थापनाको तयारी गरिएको छ । भालुवाङमा रहेको सशस्त्र प्रहरी बल नम्बर २९ ज्वालामाई गणमा अट्याच रहने र सुर्खेतको चिप्लेमा यसअघि नै रहेको सुरक्षा बेसलाई स्तरोन्नति गरी विपद् व्यवस्थापन बेस स्थापना गर्ने तयारी गरिएको हो ।

स्थापना भइसकेका विपद् व्यवस्थापन वेशमा आवश्यक सामान र जनशक्ति तैनाथ गरिसकेको छ भने अन्य तीन ठाउँमा पठाउने प्रक्रियामा रहेको छ । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उत्पादित जनशक्तिलाई ती ठाउँमा परिचालन गरेको हो । यसबाट तत्काल मनसुनजन्य प्रकोप तथा अन्य अवस्थामा हुने विपद्लाई समेत न्यूनीकरण गर्न र उद्धार कार्यलाइ थप प्रभावकारी बनाउन सहज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर