शैक्षिकस्तर अभिवृद्धि गर्न विश्वविद्यालय समर्पित हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्त्वपूर्ण भूमिका हुने बताएका छन्।

दाङको बेलझुण्डीमा आज आयोजित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, छात्रछात्रा र सम्पूर्ण शुभचिन्तक राजनीतिक आस्था एवम् दलगत अभ्यासदेखि माथि उठेर शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न समर्पित हुनु जरुरी रहेको औँल्याए।

विश्वविद्यालयबाट आर्जित ज्ञान, सीप र दक्षताको व्यावहारिक प्रयोगको बेला आएको उल्लेख गर्दै उनले कर्तव्यप्रतिको निष्ठा, आफूले आर्जेको ज्ञानप्रतिको विश्वास र दृढ इच्छाशक्तिका साथ यस विश्वविद्यालयको मर्यादा र प्रतिष्ठालाई ध्यानमा राखी अनुशासित भएर राष्ट्रसेवा र लोकहितमा प्रवृत्त हुन छात्रछात्रालाई आग्रह गरे।

सरकारले नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवर्द्धनका लागि विश्वविद्यालयबीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहेको उल्लेख गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले विश्वविद्यालयको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउन सरकारले स्पष्ट योजना अगाडि सारेको बताए।

उनले विश्वविद्यालयका पाठ्यक्रमलाई समयसापेक्ष बनाउने विषयलाई सरकारले आफ्नो नीति कार्यक्रमभित्र समेटेको बताए।

प्रधानमन्त्री दाहालले विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्य र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउने प्रतिबद्धतासमेत व्यक्त गरे।

अध्ययन गर्नु वा ज्ञान प्राप्त गर्नु र त्यसलाई व्यवहारमा उतार्नु सबैभन्दा महत्त्वपूर्ण कुरा भएको उल्लेख गर्दै उनले दीक्षित विद्यार्थीलाई राष्ट्रको नवनिर्माणमा आफ्नो बौद्धिक क्षमता, शारीरिक शक्ति र मानसिक एकाग्रताको भरपुर उपयोग गर्न समर्थ हुनुहोस् भनी शुभकामना दिए।

उनले संस्कृत वाङ्मयभित्र रहेको ज्ञान राशिलाई लोकसमक्ष पस्किने अभिभारा आफूहरूमाथि रहेको यथार्थलाई छात्रछात्राले नबिर्सने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर