इप्पान अध्यक्षमा गणेश कार्की निर्विरोध, मोहनकुमार डाँगी वरिष्ठ उपाध्यक्ष

'सबैको हित हुने गरी काम गर्छु'

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन्।

आगामी कार्यकालका लागि बिहीबार निर्वाचन हुने भए पनि अहिलेसम्म अध्यक्षसहित १८ जना निर्विरोध निर्वाचित भइसकेका हुन्।

अब ७ जना सदस्यका लागि निर्वाचन हुनेछ। सदस्यमा पनि सहमति जुटाउने प्रयास भइरहेको नवनिर्वाचित उपाध्यक्ष उत्तम भ्लोन लामाले जानकारी दिए।

त्यस्तै इप्पानको वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका सूर्यप्रसाद अधिकारीको योग्यता नपुगेपछि निर्वाचन समितिले डाँगीको एकल उम्मेदवारी कायम गरेसँगै उनी वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन्।

इप्पानको संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुन इप्पानको पदाधिकारीमा एक कार्यकाल काम गरिसकेको हुनुपर्छ। तर, अधिकारी इप्पानको पदाधिकारीमा निर्वाचित भएका थिएनन्।

उनको योग्ता नपुगेपछि निर्वाचन समितिले डाँगीको उम्मेदवारी मात्रै कायम गरेको छ। योसँगै डाँगी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्ष बनेका छन् भने संशोधित विधानअनुसार त्यसपछि उनी स्वतः अध्यक्ष हुनेछन्।

सबैको हित हुने गरी काम गर्छु : अध्यक्ष कार्की

नवनिर्वाचित अध्यक्ष कार्कीले सबैको साथ र सहयोग लिएर काम गर्ने बताएका छन्। उनले आफ्नो कार्यकालमा सबैलाई समेटेर सबै ऊर्जा उद्यमीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका हुन्।

‘भोलिका दिनमा सबै उद्यमीको साथ र सहयोग लिएर अघि बढ्नेछु,’ उनले भने, ‘आफूले काम गर्ने सिलसिलामा सबैको सहयोग आवश्यक छ, आशा छ, सबैको साथ र सहयोग पाउनेछु।’

कार्कीले आफ्नो कार्यकालमा सबैको हित हुने गरी काम गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *