नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । भन्सार कार्यालय नेपालगञ्जको तथ्याङ्कअनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ ।

पछिल्लो १० महिनाको तथ्याङ्क अनुसार नेपालगञ्ज नाका हुँदै भारतबाट १२ अर्ब ९६ करोड १० लाख रूपैयाँ बराबरको एक लाख आठ हजार तीन सय २८ किलोलिटर डिजल आयात भएको छ । डिजल आयातबाट कार्यालयलाई चार अर्ब ६२ करोड २९ लाख रूपैयाँ राजस्व प्राप्त भएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले जानकारी दिए ।

गत वर्ष सो अवधिमा १३ अर्ब ११ करोड तीन लाख रूपैयाँ बराबरको एक लाख ४१ हजार पाँच सय २८ किलोलिटर डिजल आयात भएको थियो । यसबाट कार्यालयले पाँच अर्ब ५४ करोड २७ लाख रूपैयाँ राजस्व असुल गरेको थियो । वैशाखसम्म तीन अर्ब ८६ करोड ९७ लाख ८४ हजार रूपैयाँ मूल्य बराबरको ३८ हजार आठ सय ७६ किलोलिटर पेट्रोल आयात भएको छ । यसबाट दुई अर्ब २२ करोड ५२ लाख रूपैयाँ राजस्व असुली भएको छ ।

गत वर्षको सोही अवधिमा चार अर्ब चार करोड २९ लाख रूपैयाँ बराबरको ४४ हजार नौ सय ७६ किलोलिटर पेट्रोल आयात भएको थियो । उक्त पेट्रोल आयात हुँदा दुई अर्ब ५१ करोड ७९ लाख रूपैयाँ राजस्व असुली भएको छ । त्यस्तै तीन अर्ब ९५ करोड ८२ लाख रूपैयाँ बराबरको तीन करोड ४८ लाख ९८ हजार किलो एलपी ग्यास आयात भएकामा गत वर्ष चार अर्ब २६ करोड ८२ लाख रूपैयाँ बराबरको तीन करोड ६९ लाख दुई हजार छ सय ७० किलो एलपी ग्यास आयात भएको शर्माले बताए ।

अधिकृत शर्माका अनुसार वैशाखसम्म गत वर्षको भन्दा ६३ करोड २४ लाख रूपैयाँ बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास आयात घटेको छ भने गत आर्थिक वर्षको भन्दा करिब एक अर्ब २७ करोड तीन लाख रूपैयाँ कम राजस्व सङ्कलन भएको छ । एलपी ग्यास आयातबाट गत वर्ष ७९ करोड ६१ लाख रूपैयाँ राजस्व असुली हुँदा चालु आर्थिक वर्षमा ७३ करोड ८३ लाख २६ हजार रूपैयाँ मात्र राजस्व असुली भएको छ ।

कार्यालयले गत आर्थिक वर्षको भन्दा ७१ करोड ५५ लाख रूपैयाँ कम राजस्व सङ्कलन भएको जनाएको छ । गत आर्थिक वर्षको वैशाखसम्म दुई अर्ब ८४ करोड ४५ लाख रूपैयाँ बराबरको पाँच करोड ५१ लाख ४३ हजार किलो चिनी आयात गरेको थियो । यसबाट कार्यालयलाई एक अर्ब ६१ करोड चार लाख रूपैयाँ राजस्व असुली भएको थियो । चालु आर्थिक वर्षको १० महिनामा एक अर्ब ५७ करोड ६६ लाख रूपैयाँ बराबरको दुई करोड ६२ लाख ९४ हजार ९८७ किलोग्राम चिनी आयात गरेको थियो । यसबाट कार्यालयलाई ८९ करोड ४९ लाख ५९ हजार रूपैयाँ राजस्व प्राप्त भएको छ ।

गत आर्थिक वर्षको वैशाखसम्म आठ अर्ब ३७ करोड ७१ लाख रूपैयाँको १४ करोड ७५ लाख चार हजार ७६० किलोग्राम चामल आयात भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *