पूर्वी नेपालमा बाढी-पहिरोको वितण्डा : ३ जनाको मृत्यु, ३ काे उद्धार, २९ बेपत्ता

लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज साँझ दिएको जानकारीअनुसार अहिलेसम्म पाँचथर, सङ्खुवासभा, ताप्लेजुङ्लगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ । ती घटनामा अन्य २९ जना बेपत्ता रहेका छन् । बेपत्ताहरूको खोजी जारी रहेको उनले बताए । अन्य तीन जनाको भने उद्धार गरिएको छ ।

उनका अनुसार पाँचथरमा मात्रै एक जनाको मृत्यु र पाँच बेपत्ता छन् । जिल्लामा १२ वटा पुलमध्ये केही बगाएको र केहीमा ठूलो क्षति पुर्‍याएको छ । यस्तै, छवटा घर बगाएको र दुई जलविद्युत् आयोजनामा क्षति पुगेको छ । यस्तै, सङ्खुवासभामा भने एक जनाको मृत्यु भएको र अन्य २१ जना सम्पर्कविहीन रहेका छन् । त्यहाँबाट तीन जनाको उद्धार गरिएको पनि कडायतले बताए ।

सङ्खवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले दिएको जानकारीअनुसार बेपत्ता भएकामध्ये १७ जना त्यहाँको सुपर हेवाखोला जलविद्युत् आयोजनाका कर्मचारी छन् । अन्य चार जना भने सर्वसाधारण हराइरहेका हुन् । यस्तै, ताप्लेजुङमा एकको मृत्यु र तीनजना बेपत्ता रहेका छन् । त्यहाँ नौवटा पशु चौपाया मरेको छ । इलामलगायत जिल्लाहरूमा पनि पहिरो गएको र जनजीवन प्रभावित भएको प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर