बाढी-पहिरो पीडितको सेवामा नेपाली सेना

नेपाली सेना शनिबारदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, संखुवासभालगायतका जिल्लाहरूमा आएको बाढी तथा गएको पहिरोबाट प्रभावितहरूको खोज तथा उद्धारमा सक्रिय भएको छ। प्रभावित इलाकाहरूमा नेपाली सेनाको खोज तथा उद्धार टोलीले खाेज तथा उद्धार कार्य सञ्चालन गरिरहेको हो।

यसै क्रममा पाँचथरको याङवरक गाउँपालिका वडा नं. १ स्थित खोलाघारी गाउँबाट पहिरोमा फसेका १० जना स्थानीयलाई सोमबारे नेपाली सेनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार गरी विष्णु मावि, च्याङथापुमा लगिएको छ।

यस्तै पाँचथरकै फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-५ को बीचमा पर्ने माझिटार इलाकामा हेवाखोला र तमोर नदीको किनार, हेवाखोला किनार र माउण्टेन बी हाइड्रो इलाकामा नेपाली सेनासहितको टोलीले खोज तथा उद्धारको कार्य गरेको छ। साथै माझिटार बस्तीका बासिन्दाहरूको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, फर्निचरका सामानहरूलगायत अन्य विविध सामानहरू सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

संखुवासभा जिल्लास्थित हेवाखोलामा आएको बाढीका कारण चैनपुर नगरपालिका-४, दोभानेबाट ६७ किलोमिटर उत्तरपूर्वमा रहेको सुपर हेवाखोला हाइड्रोपावरको मजदुर बस्ने क्याम्प तथा हाइड्रोपावरमा क्षति पुर्‍याएको छ। यस्तै हाइड्रोपावरमा काम गर्ने कामदार १ जनाको मृत्यु, ३ जना घाइते तथा २१ जना बेपत्ता भएका छन्। त्यसमा नेपाली सेनाको खोज तथा उद्धार टोलीले घाइते ३ जनालाई नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी बेपत्ता भएका कामदारहरूको खोजी कार्य जारी राखेको छ।

खोज तथा उद्धार गर्ने क्रममा आइतबार धनकुटाको छथरजोरपाटी गाउँपालिका-४, तेलिया भन्ने स्थानमा भेटिएको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ।

यसै सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल तथा प्रधानसेनापति प्रभुराम शर्मासमेतको टोलीबाट बाढी-पहिरो प्रभावित पूर्वी नेपालका जिल्लाहरूको स्थलगत निरीक्षण गरी वस्तुस्थितिको बारेमा जानकारी लिनुका साथै उद्धार कार्यका लागि आवश्यक निर्देशनसमेत भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर