हवाई रूट र आईएलएसबारे भारत सकारात्मक

संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अतिरिक्त हवाई रूट दिन भारत सरकार सकारात्मक रहेको बताएका छन्।

यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस)’ प्रणालीमार्फत उडान सञ्चालनका लागि पनि भारत सकारात्मक रहेको उनको भनाइ छ।

मंगलबार लुम्बिनीमा योग दिवसका अवसरमा आयोजित कार्यक्रमपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री किरातीले सो कुरा बताएका हुन्।

‘हवाई रूट र भैरहवा विमानस्थलमा आईएलएस सञ्चालनको निम्ति भारत सरकार सकारात्मक छ, जसले राष्ट्र-राष्ट्रबीच मात्र होइन बरू जनता-जनताबीच सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास छ,’ मन्त्री किरातीले लेखेका छन्।

नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि महेन्द्रनगर र भैरहवाबाट थप अतिरिक्त हवाई रूट माग गरेको थियो। यसबारे दुई देशबीच छलफल भइरहेको छ।

सोही कार्यक्रममा सहभागी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रूटबारे सकारात्मक छलफल भएको बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई रूटबारे भइरहेको छलफलबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे।

‘हवाई रूटको बारेमा हामीले छलफल गरिरहेका छौं। यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ,’ उनले भने।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *