सीमित साधन स्रोतका बावजुद प्रहरी अस्पतालकाे सेवा प्रवाह प्रशंसनीय : आईजीपी कुँवर

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवम् अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यक्तिगत स्वार्थभन्दा पनि पेशागत स्वार्थलाई आत्मसात गरी ऐक्यबद्ध भएर उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने बताएका छन्।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जको बिहीबार निरीक्षणपश्चात आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन-सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन्।

प्रहरी महानिरीक्षक कुँवरले अस्पतालमा आउने सेवाग्राहीको आशा र समस्याहरूलाई सम्बोधन गर्दै अझ शिष्ट बोलीवचन एवं व्यवहार तथा सकारात्मक सोँचका साथ जिम्मेवारी वहन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए।

अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवा प्रवाह एवम् सेवाग्राहीको गुनासो व्यवस्थापनमा अस्पताल प्रशासनले अझै प्रवाभकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

प्रहरी महानिरीक्षक कुँवरले सीमित साधन स्रोत एवम् विज्ञ जनशक्ति अभावका बावजुद पनि अस्पतालले प्रवाह गरेको सेवा प्रशंसनीय रहेको उल्लेख गर्दै अस्पतालको लक्ष्य हासिलको लागि अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक वहन गरी सम्पादन गर्नुपर्ने बताए।

अस्पतालका कमीकमजोरी सुधार र चुनौतीको सामना गर्न सामूहिक भावनाका साथ जिम्मेवारी वहन गर्न निर्देशन दिँदै उनले मानवीय सेवा प्रवाह गर्ने अस्पतालको छवि सदैव उच्च बनाउनुपर्ने विचार व्यक्त गरे।

निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक कुँवरले अस्पतालस्थित अक्सिजन प्लान्ट, इमरजेन्सी विभाग, जेष्ठ प्रहरी अतिथि गृह, पूर्वप्रहरी अधिकृत प्रतीक्षालय, नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज, मेडिसिन ओपीडी, मेस, डायलायसिस, विभिन्न वार्डहरूलगायत विभिन्न युनिटहरूको अवलोकन गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिए।

साथै उनले अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरू एवम् उपचाररत बिरामीहरूसँग अन्तरक्रियासमेत गरेका थिए।

कार्यक्रममा अस्पतालकी मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै अस्पतालको विकास र सेवा विस्तारको लागि संगठन प्रमुखबाट प्राप्त महत्त्वपूर्ण निर्देशनलाई पालना गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

सेवा प्रवाहमा सुधार गर्न समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै विशिष्टिकृत सेवा थप गर्दै लैजाने लक्ष्य रहेको उनले उल्लेख गरिन्।

उक्त कार्यक्रममा प्रहरी नायब महानिरीक्षकहरू लगायत अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर