भारत-अमेरिका साझेदारीले दिगो र समावेशी विश्वव्यापी वृद्धि हुने माेदीकाे विश्वास

भारत र संयुक्त राज्य अमेरिकाबीचको साझेदारीले दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति चालु इन्जिनको रूपमा काम गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।

अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले बुधबार नेशनल साइन्स फाउन्डेशनमा ‘भविष्यका लागि सीप’ कार्यक्रमलाई सम्बोधन गर्दै सो टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री मोदीले दुई देशबीचको बढ्दो गतिलाई कायम राख्न प्रतिभाको व्यवस्थापन र आदानप्रदानको आवश्यकतामा जोड दिएका छन्।

‘विकासको गतिलाई कायम राख्न भारत र अमेरिकालाई प्रतिभाको पाइपलाइन आवश्यक छ। एकातिर अमेरिकासँग उच्चस्तरीय शैक्षिक संस्था र उन्नत प्रविधि छन्, अर्कातर्फ भारतमा विश्वको सबैभन्दा ठूलो युवा कारखाना छ। त्यसैले मलाई विश्वास छ, भारत-अमेरिका साझेदारी दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति चालु इन्जिन साबित हुनेछ,’ प्रधानमन्त्री मोदीले भने।

यसअघि बुधबार वाशिङ्टन डीसी पुगेका प्रधानमन्त्री मोदीलाई एयरबेसमा औपचारिक स्वागतका साथै गार्ड अफ अनर दिइएको छ। प्रधानमन्त्री मोदी त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिलाले आयोजना गर्नु भएको राजकीय रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ।

प्रथम महिला जिल बाइडेनको साथमा प्रधानमन्त्री मोदीले भर्जिनियाको अलेक्जान्ड्रियामा रहेको नेशनल साइन्स फाउन्डेशनको भ्रमण गर्नु भएको हो। सो अवसरमा उनीहरूले महत्त्वपूर्ण उद्योगमा सफल पार्नका लागि सान्दर्भिक सीप हासिल गरिरहेका दुवै देशका विद्यार्थीसँग कुराकानी गरेका थिए।

सो अन्तरक्रियामा नयाँ शिक्षा नीति लागू गर्ने, शिक्षा र सीपलाई एकीकृत गर्ने जस्ता विद्यार्थीको उज्ज्वल भविष्य सुरक्षित गर्न भारत सरकारले गरेका पहल माथि प्रकाश पारिएको थियो।

विद्यार्थीको उज्ज्वल भविष्यका लागि भारत सरकारले गरेको कामको चर्चा गर्दै प्रधानमन्त्री मोदीले नयाँ शिक्षा नीति ल्याइएको र शिक्षा र सीपलाई एकीकृत गर्ने योजना बनाएको बताएका छन्। स्किल इन्डियाअन्तर्गत भारतले आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन, ड्रोनको क्षेत्रमा १५ अर्ब मानिसलाई दक्ष बनाएको छ।

उनले विद्यालयमा भारत सरकारले १० हजार अटल टिङ्करिङ ल्याब स्थापना गरी बालबालिकालाई आविष्कारमा संलग्न हुने सुविधा उपलब्ध गराएको पनि जानकारी दिएका छन्।

प्रधानमन्त्री मोदीले अमेरिकी विद्यार्थीलाई भारत आउन आग्रह गर्दै अमेरिकाका सयौँ शिक्षक पहिलेदेखि नै भारतमा रहेको र प्राविधिक साझेदारीमा भाग लिइरहेको बताएका छन्।

भारत-अमेरिका शिक्षक आदानप्रदान कार्यक्रमको प्रस्ताव गर्दै प्रधानमन्त्री मोदीले भने, ‘हामी भारत-अमेरिका शिक्षक आदानप्रदान कार्यक्रम सुरू गर्नेबारे सोच्न सक्छौँ। वैज्ञानिकको संलग्नता बढाउन यो अत्यन्तै सान्दर्भिक छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *