मणिपुर द्वन्द्वको विषयमा सर्वदलीय बैठक, राष्ट्रपति शासन लागू गर्न केही दलको माग

मणिपुर भारतको मणिपुरमा केही महिनायता जातीय द्वन्द्व जारी छ । स्थानीय दुई जाति मैतेई र कुकी समुदायबीच जातीय आरक्षणको विषयमा द्वन्द्व चर्किएको हो । यस विषयमा शनिबार भारतमा सर्वदलीय बैठक आयोजना भएको छ ।

बैठकमा भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले मणिपुरमा सरकारले चालेका कदमहरूको बारेमा जानकारी दिए । सोही क्रममा विपक्षी दलहरुले मणिपुरमा स्थलगत अवस्थाको पूर्ण जानकारी लिन सर्वदलीय प्रतिनिधिमण्डल पठाउनुपर्ने माग गरेका छन् ।

गृहमन्त्री शाहले सरकारले मणिपुरमा सामान्य स्थिति पुनर्स्थापित गर्न सक्दो प्रयास गरिरहेको बताए । उनले हरेक दिन प्रधानमन्त्री नरेन्द्र मोदीलाई अवस्थाको जानकारी दिइरहेका छन् । बैठकपछि भारतीय कंग्रेस पार्टीले मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहलाई तत्काल प्रभावबाट हटाउनेलगायत आठवटा माग राखेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार समाजवादी पार्टीलगायत केही अन्य दलहरूले उक्त राज्यमा राष्ट्रपति शासन लागू गर्नुपर्ने बताएका छन् । समाजवादी पार्टीका रामगोपाल यादवलगायत केही नेताहरूले मणिपुरको राज्य सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन् । यादवले राज्यमा शान्ति स्थापना गर्न ‘राष्ट्रपति शासन लागू गर्न’ माग गरे ।

मणिपुरमा यस वर्ष मे ३ तारिखदेखि लगातार हिंसा भइरहेको छ । दुई समुदायबीच जारी हिंसामा हालसम्म एक सयभन्दा बढीको मृत्यु भइसकेको छ भने तीन हजारभन्दा बढी घाइते भएका छन् ।

मणिपुरको विषयमा गृहमन्त्री शाहले प्रत्येक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको र प्रधानमन्त्री नरेन्द्र मोदीले पनि निर्देशन दिँदै आएको सर्वदलीय बैठकपछि बीजेपी प्रवक्ता र मणिपुरका प्रभारी सम्बित पात्राले मिडियालाई भने ।

पात्राले भने, ‘सबै जनप्रतिनिधिको कुरा सुनेपछि गृहमन्त्रीले यी सबै विषयमा विस्तृतमा छलफल गर्ने बताएका छन् । गृहमन्त्रीले आपसी सहकार्यमा छिट्टै शान्तितर्फ अघि बढ्ने आश्वासन दिएका छन् ।’ योसँगै विपक्षीले यसलाई ‘खुला विचारको बैठक’ भनेका छन् तर आफ्ना केही माग पनि राखेका छन् ।

बैठकपछि इबोबी सिंहले वर्तमान मुख्यमन्त्री एन बिरेन सिंहको शासनमा राज्यमा शान्ति सम्भव नभएको बताए । उनले मुख्यमन्त्रीलाई तत्काल हटाउन माग गर्दै आफ्नो कुरा राख्न थप समय नपाएकोमा दुःख लागेको बताए ।

गृहमन्त्रीले प्रदेशमा शान्ति स्थापनाका लागि कुनै रोडम्याप दिएका छन् कि भनेर सोध्दा उनले त्यस्तो केही नभएको बताए । उनले कंग्रेसलगायत केही दलले मणिपुरमा सर्वदलीय प्रतिनिधिमण्डल पठाउने कुरा गरेको भए पनि प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएपछि त्यस्तो भेटघाटको आयोजना गर्ने अपेक्षा गरेको बताए ।

गृहमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा भाजपाबाहेक कांग्रेस, तृणमूल कांग्रेस, डीएमके, एआईएडीएमके, आम आदमी पार्टी र कम्युनिष्ट पार्टीका नेताहरू सहभागी थिए । भाजपाका पार्टी अध्यक्ष जेपी नड्डा, मणिपुरका पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता ओकराम इबोबी सिंह, तृणमूल कांग्रेसका डेरेक ओब्रायन, मेघालयका मुख्यमन्त्री तथा एनपीपीका कोनराड सिंह, सिक्किम क्रान्तिकारी मोर्चाका नेता र सिक्किमका मुख्यमन्त्री प्रेस सिंह तामाङलगायत सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *