ललिता निवास प्रकरणमा ७ जना पक्राउ

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पछिल्लो पटक पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको हो। शाहलाई उनकाे निवास धुम्बाराहीबाट पक्राउ गरिएकाे हाे।

त्यसअघि मालपोत कार्यालय, डिल्लीबजारका पूर्वखरिदार गोपाल कार्की पक्राउ परेका थिए।

उनीहरूअघि सीआईबीले मंगलबार नै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसहित ५ जनालाई पक्राउ गरिसकेको छ। गुरूङलाई सबैभन्दा पहिला मंगलबार बिहान नक्सालस्थित उनको निवासबाट पक्राउ गरिएको थियो।

गुरूङ पक्राउ परेको केही बेरमा काठमाडौंका विभिन्न ठाउँबाट मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी पक्राउ परेका थिए।

यस प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेकै थियो। थप प्रमाण संकलन गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सात जनाविरूद्ध सीआईबीले सरकारी कागजात कीर्तेमा मुद्दा चलाउने तयारी गरिरहेको छ।

यस  प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरूद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सीआईबीको अपरेसन जारी रहेकाले यसमा मुछिएका अन्य अभियुक्तहरू पनि पक्राउ पर्ने सम्भावना बढेको छ।

सीआईबीले २०७८ पुसमा प्रकरणको अनुसन्धान गरी सरकारी वकिलको कार्यालय फिर्ता पठाएको थियो। तर, सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भनेर फिर्ता पठाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर