ललिता निवास प्रकरण

मुलुकी ऐन, २०२० अनुसार मुद्दा चलाइने, हदम्याद नलाग्ने

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ। प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज पत्रकार सम्मेलन गरी सो प्रकरणमा मङ्गलबार पक्राउ परेका चार जनालाई सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

सीआईबीले हिजो उक्त प्रकरणमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको थियो। यद्यपि तीन जनाले यसअघि नै अदालतबाट ‘स्टे अर्डर’ लिएको हुनाले प्रहरीले कागज गराएर छाडेको थियो। जसमा सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि केसी छन्।

आज सार्वजनिक हुनेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू धर्मप्रसाद गौतम र गोपाल कार्की छन्।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जग्गा प्राप्ति ऐन, २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहण गरी नेपाल सरकार, समरजङ्ग कम्पनीका नाममा दर्ता रहेको ललिता निवासको जग्गा हिनामिना, सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

‘राणा परिवारलाई जग्गा फिर्ता गरेको नाममा नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना गरेको पाइएको छ,’ उनले भने, ‘सरकारी जग्गामा मोही, गुठी कोही हुँदैन।’

ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले लामो समयदेखि अनुसन्धान गरिरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने गरी काम गरिरहेको बताइन्। सरकारी वकिल कार्यालयबाट फाइल फिर्ता आइसकेपछि ब्यूरोले अनुसन्धानमा ठूलो मेहनत गरेको उनकाे भनाइ छ।

हदम्याद नलाग्ने

सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्ने क्रममा भएको कीर्तेमा हदम्याद नलाग्ने प्रहरीले दाबी गरेको छ ।

सीआईबीले नयाँ मुलुकी ऐन जारी हुनुअघिकै अवस्थाको कानूनका आधारमा मुद्दा दायर हुने बताएको हो। पुरानो कानूनअनुसार मुद्दा चलाउँदा हदम्याद नलाग्ने प्रावधान रहेको प्रहरीको भनाइ छ।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले मुलुकी ऐन, २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्यादको व्यवस्था नभएकाले ललिता निवास प्रकरणमा हदम्याद लागू नहुने बताइन्।

४०६ जनाविरूद्ध पक्राउ पुर्जी 

सीआईबीका अनुसार यस प्रकरणमा ४०६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएकाे छ। काठमाडाैं जिल्ला अदालतबाट अनुमति लिएर उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गरिएकाे हाे।

ललिता निवास प्रकरणमा एउटा मुद्दा विशेष अदालतमा विराराधीन छ। प्रहरीले यसमा लिखत कीर्तेमा पनि अनुसन्धान सुरू गरेकाे हाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर