सशस्त्र प्रहरीका १२० जना असई आधारभूत तालिमबाट दीक्षित

सशस्त्र प्रहरीका १२० जना सहायक निरीक्षक (असई) आधारभूत तालिमबाट दीक्षित भएका छन्। ४६ हप्ता अवधिको उक्त आधारभूत तालिम १५ जना महिलासहित १२० असईहरूले सफलतापूर्वक सम्पन्न गरेका हुन्।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ र हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा तालिम सञ्चालन भएको थियो।

सि.सं. १५ (क) र (ख) असई आधारभूत तालिमको दीक्षान्त समारोह बुधबार सम्पन्न भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा प्रशिक्षण प्रतिष्ठानमा दीक्षान्त समारोह सम्पन्न भएको हो।

महानिरीक्षक अर्यालको सम्मानमा दिक्षान्त कवाजका प्रशिक्षार्थी असईहरूले सलामी अर्पण गर्नुका साथै उनीसमक्ष इज्जत अर्पण कवाजसमेत प्रदर्शन गरेका थिए।

महानिरीक्षक अर्यालले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक किरण सिञ्जाली र नवराज शाहीलाई खुकुरी प्रदान गर्नुका साथै कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरूलाई समेत पुरस्कार प्रदान गरे।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले तालिम सफलतापूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिन लागेका असईहरूलाई बधाई दिए। साथै तालिममा सिकाइएका ज्ञान, कला र कौशललाई कार्यक्षेत्रमा खटिँदा इमान्दार, कर्तव्यनिष्ठ र लगनशील भई प्रयोग गर्न आग्रह गरे।

देश र नागरिकको सेवा र सुरक्षामा आफूलाई समर्पित गर्छु भनी शपथ लिएर जनसेवामा जुट्ने अवसर सबैमा नहुने उनको भनाइ थियो।

‘तपाईं र तपाईंका आफन्तले गरेको गौरवले त्यसबेला सार्थकता पाउँछ, जब तपाईंले राज्य र नागरिकको सेवामा परिचालित रहँदा उत्कृष्ट कार्यसम्पादनको दृष्टान्त प्रस्तुत गर्नुहुन्छ,’ महानिरीक्षक अर्यालले भने, ‘अनि तपाईंहरूले बगाएको पसिनाले त्यतिबेला सार्थक पाउँछ, जतिबेला तपाईंहरूले भिन्नाभिन्नै भूगोलमा बसेर नेपाली नागरिकहरूमा सुरक्षाको प्रत्याभूति दिई आपतविपत परेको समयमा भरोसा दिलाउन सक्नुहुन्छ।’

उनले राज्यप्रदत्त जिम्मेवारीका साथ नागरिकको सेवा र सुरक्षामा परिचालित रहन सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।

मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानूनको पूर्ण परिपालना गरी सामाजिक र पदीय आचरणविपरीत गतिविधिहरुमा नलागी आफूलाई एउटा अब्बल अधिकृतको रूपमा परिचित गराउनेतर्फ लाग्नुपर्ने समेत बताए।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाललाई स्थापनाकालदेखि यहाँसम्म आइपुग्न संगठनमा हिजो र आजका दिनहरूमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको त्याग, तपस्या र बलिदानको अनुकरणीय भूमिका रहेको स्मरण गरे।

उनले नयाँ जोश र ऊर्जाका साथ दीक्षित भई कार्यक्षेत्रमा खटिन लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकहरूको आगमनसँगै संगठनले अझ बढी उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास लिएको बताए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *