ललिता निवास प्रकरण

भाटभटेनी सञ्चालक गुरूङ र परिवारको नाममा ललिता निवासको २९ रोपनी जग्गा, अरूकाे कति?

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ र उनको परिवारको नाममा ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा रहेको दाबी गरेको छ।

कीर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यक्ति र उनीहरूसँग जोडिएको विषयबारे आज पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै सीआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले गुरूङ र उनको परिवारको नाममा २९ रोपनी ललिता निवासको जग्गा रहेको पाइएको बताए।

उनले अन्यको हकमा चार–पाँच रोपनी जग्गा रहेको देखिएको बताए।

यस्तै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहले भने मालपोत कार्यालय भक्तपुरको तत्कालीन अधिकृत हुँदा पाँच रोपनीभन्दा बढी ललिता निवासको जग्गा हडपेको आरोप लगाइएको छ। प्रहरीले मंगलबार गुरूङ र शाहसहित मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरी हिरासतमा राखेको छ।

सर्वाेच्चबाट स्टे अर्डर ल्याएको पाइएपछि पक्राउ परेकामध्ये अन्य तीन जनालाई भने कागज गराएर हिजो नै छाडिएको थियो। सीआईबीका अनुसार उनीहरूलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सर्वाेच्चले आदेश दिएको पाइएपछि कागज गरेर छाडिएको हो।

यसरी छाडिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन्। देउजा मालपोत कार्यालय, डिल्लीबजारका तत्कालिन प्रमुख र कपाली कर्मचारी हुन्।

वि. सं. २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर, सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो। त्यसपछि सीआईबीले पुनः अनुसन्धान थालेको हो।

उक्त घटनाको सन्दर्भमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विचाराधीन रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर