ललिता निवास प्रकरण : बन्दीप्रत्यक्षीकरणमा कारण देखाउ आदेश

सर्वाेच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त रिटमाथि आज सुनुवाइ गर्दै सर्वाेच्चबाट के, कसो भएको हो? आधार, कारण र प्रमाणसहित पेस गर्ने गरी कारण देखाउ आदेश भएको जानकारी दिए।

प्रहरीको सीआईबीले पक्राउ गरेपछि यही असार १३ गते पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमका तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो।

उक्त रिटमाथि आज सुनुवाइ गर्दै सर्वाेच्चले भनेको छ, ‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई यो सूचना म्याद प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र कागज प्रमाणसहित महान्यायाधिक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेश गर्नू।’

अर्का गोपाल कार्कीसहित चार जनालाई यही असार १२ गते प्रहरीले पक्राउ गरेको थियो। १३ गते अदालतमा पेस गरिएकामा काठमाडौँ जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ। त्यही दिन नै उनीहरू बन्दीप्रत्यक्षीकरणको रिट लिएर अदालत पुगेका थिए।

सर्वाेच्चबाट ‘स्टेअर्डर’ ल्याएको पाइएपछि पक्राउ परेका अन्य कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गरेर छाडिएको थियो।

वि. सं. २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि सोही प्रकरणमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ। उक्त प्रकरणमा अख्तियार दुरूपयोग अनुस्न्धान आयोगले दायर गरेको मुद्दा अहिले पनि विचाराधीन रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *