नवआगन्तुकहरूको असल र व्यावसायिक संस्कारका लागि पहिले कमाण्डर नमुनाको रूपमा प्रस्तुत हुनुपर्छ : आईजीपी कुँवर

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बदलिँदो परिवेश तथा चुनौतीलाई सामना गर्न आफ्नो जिम्मेवारी र उत्तरदायित्वप्रति कटिबद्ध भई निष्पक्ष रूपमा नागरिक सेवामा लाग्नुपर्ने बताएका छन्।

नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा कार्यरत प्रहरी कर्मचारीहरूलगायत सम्पूर्ण प्रशिक्षकहरूलाई शनिबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन्।

प्रहरी कर्मचारीहरूमा निहित सीप र अनुभव तथा जिम्मेवारीलाई गुणस्तरीय रूपमा सम्पादन गर्दा नै संगठनको श्रीवृद्धि हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘व्यावसायिक स्वार्थका लागि निष्ठा, दृढता र सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने आजको आवश्यकता र नागरिक चाहना पनि हो।’

नेपाल प्रहरीका प्रशिक्षण प्रदायक संस्थाहरूले नवआगन्तुकहरूलाई असल र व्यावसायिक संस्कार र दृष्टिकोण प्रदान गर्नका लागि हरेक कमाण्डर सबैभन्दा पहिले आफैं नमुनाको रूपमा प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए। आन्तरिक शुद्धीकरणमा शून्य सहनशीलताको नीतिलाई अंगीकार गर्दै जनमुखी र व्यावसायिक दक्षता हासिल गर्नेतर्फ सबै प्रहरी कर्मचारीहरू अग्रसर हुनुपर्ने उनले बताए।

नेपाल प्रहरी शिक्षालयकी निर्देशक प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक निशान थापाले शिक्षालयको विविध पक्ष समेटिएको प्रस्तुतीकरण प्रस्तुत गरेका थिए। सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले शिक्षालय परिसरमा वृक्षरोपणसमेत गरेका थिए।

यसैगरी प्रहरी महानिरीक्षक कुँवरले शनिबार जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी कर्मचारीहरू एवम् मातहत इकाइ प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर