प्रहरी संगठनको प्राथमिकता आन्तरिक शुद्धीकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा : आईजीपी

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी संगठनको प्राथमिकता आन्तरिक शुद्धीकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा भएको बताएक छन्। प्रहरी कर्मचारीहरूले यसलाई मध्यनजर गरी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न सदैव कटिबद्ध रही काम गर्नुपर्ने उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय, गोरखाको आइतबार निरीक्षण भ्रमण तथा अनुगमनको सिलसिलामा उक्त कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा प्रहरी महानिरीक्षक कुवँरले उक्त कुरा बताएका हुन्।

प्रहरी महानिरीक्षक कुँवरले मनसुनको समय रहेकोले स्थानीय पालिकाहरूसँगको समन्वयमा स्रोत साधनहरूको व्यवस्थापनसहित प्रहरी कर्मचारीहरूले विपद् व्यवस्थापनमा सक्रिय रही उद्धारका लागि तयारी अवस्थामा रहनुपर्ने बताए।

समाजमा हुने छुवाछूत, महिला तथा घरेलु हिंसालगायतका घटना घटेमा तीव्र अनुसन्धान पहल गर्नुका साथै अन्य मुद्दाका फैसला कार्यान्वयन र फरार अपराधीहरू पक्राउ, पेन्डिङ मुद्दाहरूको फर्स्योटप्रति कार्यालय प्रमुखहरूलाई थप क्रियाशील रहन उनले निर्देशन दिए।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरूले संगठनका नीति, निर्देशिका र प्राथमिकतालाई अर्जुनदृष्टि बनाएर व्यावसायिक निष्ठाका साथ मन, वचन र कर्मले कार्यरत रहँदै सेवाग्राहीहरूलाई नागरिकमैत्री व्यवहारका साथ उत्कृष्ट सेवा दिनुपर्नेमा जोड दिए।

कानूनको निष्पक्ष कार्यान्वयन गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले मीठो बोलीवचन र व्यवहारका साथ सेवा गर्ने, व्यावसायिक धर्म निर्वाह गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले अपराध अनुसन्धानमा सबुत-प्रमाणको खोजी गर्नुपर्ने, लिखितममा मेहनत गर्ने, पीडितहरूसँगको भेटघाट, उनीहरूको सुरक्षा र घटनाको फलोअप नियमित गर्नुपर्ने बताए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, गोरखा तथा मातहत कार्यालयका प्रमुख तथा अन्य प्रहरी अधिकृत तथा जवानहरूसमेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर