ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

बालुवाटारस्थित ललिता निवासकाे सरकारी जग्गा हिनामिना प्रकरणमा थप तीन जना पक्राउ परेका छन्। यसअघि चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेकाे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार थप तीन जनालाई पक्राउ गरेको हाे।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर ५ का तत्कालीन वडासचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की छन्। उनीहरूलाई काठमाडाैंबाट पक्राउ गरिएकाे ब्यूराेका एक प्रहरी अधिकृतले जानकारी दिए।

यसअघि सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम र पूर्वकर्मचारी गोपाल कार्कीलाई पक्राउ गरेर हिरासतमा लिएकाे छ। उनीहरूलाई प्रहरीले गत मंगलबार पक्राउ गरेको थियो।

उनीहरूसँगै प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई पनि पक्राउ गरेको थियो। उनीहरूले पहिल्यै स्टे-अर्डर लिइसकेकाले सीआईबीले साेही दिन छाडेकाे हाे।

सीआईबीले लामो अनुसन्धान सकेर २०७८ साल पुसमै सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर, सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नू भनेर पुस २२ गते प्रतिवेदन फिर्ता पठाएको थियो।

प्रतिवेदन फिर्ता पठाएपछि अहिले सीआईबीले पुन: अनुसन्धान गरी यसमा संलग्नहरूलाई पक्राउ गर्न थालेको हो। अहिले पक्राउ पर्नेको संख्या ७ छ।

सीआईबीले ललिता निवासको १४३ रोपनी जग्गा हडपेको निष्कर्ष निकालेको छ। अहिले प्रहरीले सरकारी जग्गा कीर्ते कसुरमा अनुसन्धान गरिरहेको हाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर