ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

बालुवाटारस्थित ललिता निवासकाे सरकारी जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। आइतबार तीन जनालाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार थप दुई जनालाई पक्राउ गरेको हो।

साेमबार पक्राउ पर्नेमा समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन छन्। उनीहरूलाई काठमाडाैंबाट पक्राउ गरिएको सीआईबीका एक अधिकृतले जानकारी दिए।

आइतबार पनि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। प्रहरीले आइतबार वडासचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको थियो।

यस प्रकरणमा हालसम्म नौ जना पक्राउ परिसकेका छन्। उक्त प्रकरणमा केहीअघि मात्रै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, तत्कालिन सरकारी कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरिएको थियो ।

वि. सं. २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि उक्त प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो। तर, सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर