संसदीय समिति सभापति चयन प्रक्रिया तत्काल अघि बढाउने सहमति

सत्तारूढ नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस तथा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) बीच संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ।

मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदीय समिति सभापति चयन प्रक्रिया अविलम्ब अघि बढाउने सहमति भएको हो।

सभापति चयन नहुँदा संसदीय समितिहरूले काम गर्न नसकेपछि सभामुख घिमिरेले दलहरूलाई छलफलमा बोलाएका थिए।

बैठकमा सभामुख घिमिरेले संसदीय समितिको नेतृत्व चयनमा तपाईंहरूबीच कुनै समझदारी हुन्छ कि निर्वाचन प्रक्रिया अघि बढाऊँ भन्दै शीर्ष नेताहरूलाई सोधेका थिए।

बैठकमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले सभापति चयनबारे सबै दलका प्रमुख सचेतकहरूसँग छलफल गरेर चाँडै प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिए।

उनले सबै दलहरू संसदमा मिलेको सन्देश दिन सभापति चयनमा विगतको सहमतिलाई कार्यान्वयनमा जोड दिने बताए। ‘पुरानो सहमतिअनुसार अघि बढ्न हामी तयार छौैं,’ मन्त्री गुरूङले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर