ललिता निवास प्रकरण : पक्राउ परेका ९ जनालाई थप ७ दिन थुनामा राख्न अनुमति

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका ९ जनालाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

काठमाडौं जिल्ला अदालतले पक्राउ आरोपितहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले जानकारी दिइन्।

सीआईबीले गत मंगलबार ७, आइतबार तीन र सोमबार दुई जनालाई पक्राउ गरेको थियो। गत मंगलबार पक्राउ परेका ७ जनामध्ये तीन जनाले अदालतको स्टे-अर्डर देखाएपछि उनीहरू भने सोही दिन रिहा भएका थिए।

सीआईबीले सोमबार समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको थियो। यस्तै आइतबार वडासचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको थियो।

यस प्रकरणमा केहीअघि मात्रै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, तत्कालीन सरकारी कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ परेका थिए।

उनीहरूमध्ये मीनबहादुर गुरूङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका छन्। मंगलबार रिटमा सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ भने हुन सकेन।

प्रकरणमा सर्वोच्च अदालतबाट स्टे-अर्डर लिएका १७ जनाविरूद्ध केन्द्रीय अनुसन्धान ब्यूरोले भ्याकेट निवेदन हालेको छ।

ब्यूरोले सोमबार सर्वोच्च अदालतले १७ जनालाई पक्राउ नगर्न जारी गरेको आदेशविरूद्ध भ्याकेट निवेदन दिएको हो।

वि. सं. २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि उक्त प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो। तर, सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *