गायक रविन तामाङको निधन

नेपाली साङ्गीतिक क्षेत्रका चर्चित रकगायक रविन तामाङको निधन भएको छ। तामाङको मङ्गलबर ६० वर्षको उमेरमा बूढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको उनकी दिदी भगवती तामाङले जानकारी दिइन्।

प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार मङ्गलबार साँझ गायक तामाङले फोन नउठाएको भन्दै प्रहरीलाई फोन आएको थियो। तामाङको घरमा प्रहरी टोली पुग्दा उनी खाटको छेउ मृत भेटिएकाे चन्दले बताए।

मृत्युको कारण शव परीक्षणपश्चात मात्र खुल्ने प्रहरीले जनाएको छ। रविन एन्ड द रिभोलुसन ब्यान्डका भोकलिस्ट रहेका गायक तामाङ चलचित्र अभिनयमा समेत सक्रिय थिए। पछिल्लो समय चलचित्र ‘छड्के-२’ मा अभिनय गरेका गायक तामाङको नेपाली रकशैली गीतको विकासमा उल्लेख्य योगदान रहेको छ। उनकाे निधनमा नेपाली सङ्गीतकर्मीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्।

गायक तामाङका ‘नेपाल’, ‘एकता’, ‘चिसो-चिसो हावामा’, ‘माइला भाई’, ‘जति माया लाए पनि’, ‘दम मारो दम’, ‘भुलमा भुल्यो’ लगायत गीत चर्चित छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर