प्रधानमन्त्रीकाे राजीनामा मागसहित एमालेको विरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) विराेधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित  भएकाे छ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागसहित अवराेध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर राजीनामा माग गरेका हुन्।

‘प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो बैठक अघि बढ्न सक्दैन,’ सांसद पन्तले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको स्वाभिमानमाथि आघात भएको छ। यो दुर्भाग्यको दिन किन देख्नुपर्‍यो?’

उनले नेपालको संसद र जनताले प्रधानमन्त्री बनाउने पनि बताए। प्रधानमन्त्री दाहालले काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली गएको अभिव्यक्ति दिएका थिए।

सभामुख देवराज घिमिरेले भने आकस्मिक समयमा अन्य सांसदहरूलाई बोल्न समय दिएका थिए। एमालेका सांसदहरूले उठेर विरोध गरेका थिए।

प्रतिपक्षी दल राप्रपाले पनि प्रतिनिधि सभा बैठकमा विरोध गरेको छ।

एमालेले यसअघि राष्ट्रियसभा बैठकमा पनि प्रधानमन्त्रीकाे राजीनामा मागेकाे थियाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *